22nd October 2026, Thursday

यस वर्षको वडा दशैंको टिकाको साइत कात्तिक ४ गते बिहान १० बजेर २६ मिनेटमा

Post Image
2 हप्ता अगाडी

News by: helpline

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको वडा दशैको टीकाको साइत कात्तिक ४ गते बुधबार बिहान १०ः२६ मिनेट उत्तम रहेको जनाएको छ ।

समितिले विजया दशमीको साइत कात्तिक ४ गते बुधबार बिहान १०ः२६ बजे उत्तम रहेको जनाएको हो । सो दिन बिहान ०८ः४९ बजे देवी विसर्जन गरी १०ः२६ बजेको शुभ साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ । पश्चिम मोहडा गरेर टीका लगाउनुपर्ने पनि समितिले जनाएको छ । अर्थात्, टीका लगाइमाग्ने मानिस पश्चिम फर्केर टीका थाप्नुपर्नेछ ।

 विजया दशमीका दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेका लागि यो साइत दिइएको समितिले जनाएको छ । राज्य सञ्चालकले भने समितिले तोकेकै साइतमा मान्यजनबाट टीका, प्रसाद थाप्नुपर्ने समितिले उललेख गरेको छ । देवीको प्रसादका रूपमा देशका धेरै भागमा कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्ने गरिन्छ । केही भागमा भने विजयादशमीका दिनमात्र देवीको प्रसादका रूपमा टीका थाप्ने गरिन्छ ।

यस वर्ष असोज २५ गते आइतबारदेखि नवरात्रारम्भ हुँदैछ । नवरात्रको पहिलो दिन घटस्थापना गरिन्छ । घटस्थापनाका लागि असोज २५ गते बिहान ११ः४७ बजेको साइत शुभ रहेको जनाइएको छ । असोज ३१ गते शनिबार फूलपाती पर्व परेको छ । यसै दिन बिहान ०७ः३७ बजे तुलजा भवानी यात्राको साइत जुरेको छ । तुलजा भवानीलाई स्थिरासनमा राख्ने साइत बिहान १०ः३९ बजेको छ । 

कात्तिक १ गते आइतबार महाअष्टमी पर्व परेको छ । यसै दिन राति भने कालरात्रि पर्व मनाइन्छ । कात्तिक २ गते सोमबार पनि अष्टमी तिथि नै परेको छ । कात्तिक ३ गते मङ्गलबार महानवमी पर्व परेको छ । कात्तिक ४ गते बुधबार विजयादशमी पर्व परेको छ । नेपालीको महान् पर्व बडादशैँको यो मुख्य दिन हो । यस दिन देवी विसर्जनको साइत बिहान ०८ः४९ बजे रहेको समितिले जनाएको छ । बिहान ०८ः४९ बजे देवी विसर्जन गरी साइतमा टीका लगाउनेका लागि बिहान १०ः२६ बजेको साइत उत्तम रहेको छ ।

 कात्तिक ८ गते आइतबार सबै बलिपूर्ति गर्नुपर्नेछ । कात्तिक ८ गते आइतबार कोजाग्रतव्रत र पूर्णिमा व्रत परेको छ । यस दिन बेलुकी घर घरमा धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरेपछि १५ दिन लामो दुर्गा पक्ष अर्थात् दशैं पर्व समापन हुन्छ । कात्तिक ९ गते सोमबार कोजाग्रत पूर्णिमा परेको पनि समितिले जनाएको छ ।



No ad available.


No ad available.