News by: helpline
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
नाउपाकी अध्यक्षसमेत रहेकी सांसद रञ्जिता श्रेष्ठले आइतबार सभामुख देवराज घिमिरेलाई भेटेर सरकारलाई दिएको समर्थन फिर्ताको जानकारी गराएकी हुन्। नाउपाले संसदीय दल बैठक गरेर सरकारलाई दिएको समर्थन फिर्ताको निर्णय गरेको थियो।
यसैगरी समर्थन फिर्ता लिएको सम्बन्धमा जानकारी गराउन प्रधानमन्त्री ओलीलाई भेट्ने समय लिएको र आजै साँझ भेट्ने अध्यक्ष श्रेष्ठले जानकारी दिइन् । प्रधानमन्त्री ओली पुल उद्घाटनका लागि हुम्ला गएका छन् । त्यताबाट फर्किएपछि भेट्ने श्रेष्ठले बताइन् ।
नाउपाबाट सरकारमा गएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण चौधरी फिर्ता भइसकेका छन् । त्यस्तै सुदूरपश्चिम सरकारबाट पनि नागरिक उन्मुक्ति बाहिरिसकेको छ ।संविधानको धारा १०० को उपधारा २ मा, ‘प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्नु पर्नेछ,’ भन्ने उल्लेख छ।
२०८१ साउन ६ गते प्रतिनिधि सभामा प्रधानमन्त्री ओलीले राखेको विश्वास मतको प्रस्तावका पक्षमा १८८ जना सांसदले मत दिएका थिए। जसमा नाउपाले पनि मत दिएको थियो ।
सरकारमा कांग्रेस र एमालेको मात्रै पनि बहुमत पुग्छ। तर नाउपाले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री ओलीले संसदमा बिश्वासको मत लिनुपर्नेछ । प्रतिनिधि सभामा नाउपाका ४ जना सांसद छन्।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
बेलायतस्थित नेपाली दूतावासले नेपाली सामुदायिक संस्थालाई अभिभावकत्व दिने