24th February 2026, Tuesday

भ्रष्टाचार नियन्त्रणमा नेपालको प्रगति शुन्य

Post Image
1 हप्ता अगाडी

News by: helpline

काठमाडौं । नेपालले भ्रष्टाचार नियन्त्रणमा कुनै ठोस प्रगति गर्न नसकेको ट्रान्सपरेन्सी इन्टरनेसनल (टिआई) को प्रतिवेदनले देखाएको छ ।

ट्रान्सपरेन्सी इन्टरनेसनल (टिआई) ले मङ्गलबार सार्वजनिक गरेको ’भ्रष्टाचार अवधारणा सूचकाङ्क (सिपिआई) २०२५’ अनुसार नेपालको सूचकाङ्क यथावत् रहेको छ । प्रतिवेदनमा विश्वका १८२ देश समेटिएको सूचकाङ्कमा नेपाल १०० मध्ये ३४ अङ्कसहित मध्यमभन्दा कमजोर अवस्थामै रहेको टिआईको उल्लेख छ ।

नेपालको स्थिति गत वर्षजस्तै यस वर्ष पनि ३४ अङ्कमै सीमित भएको हो । छ वटा अन्तर्राष्ट्रिय संस्थाले सन् २०२५ को अगस्टसम्म उपलब्ध गराएको सुशासनसम्बन्धी तथ्याङ्कका आधारमा नेपालको अङ्क निर्धारण गरिएको टिआई नेपालका अध्यक्ष मदनकृष्ण शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार लामो समयदेखि नेपालले ३५ भन्दा कम अङ्क प्राप्त गर्दै आएको छ । सूचकाङ्कमा १०० अङ्कले भ्रष्टाचारमुक्त र शून्य अङ्कले अत्यधिक भ्रष्ट अवस्थालाई जनाउँछ । सन् २०२५ मा विश्वका दुई तिहाइ देशले १०० मा ५० भन्दा कम अङ्क प्राप्त गरेका छन्, जसले ती देशहरू भ्रष्टाचार नियन्त्रण गर्न असफल रहेको सङ्केत गर्दछ । नेपालले कम अङ्क प्राप्त गर्नुले सत्तामा पुगेकाले भ्रष्टाचारविरुद्ध प्रभावकारी काम गर्न नसकेको पुष्टि गरेको अध्यक्ष शर्माले बताउनुभयो ।

 भदौ २३ र २४ मा देखिएको ’जेनजी’ आन्दोलन तथा मुलुकले बेहोरेको अपूरणीय धनजन क्षतिको मूल कारणमध्ये बढ्दो भ्रष्टाचार पनि एक रहेको दाबीलाई यस सूचकाङ्कले थप पुष्टि गरेको उहाँको भनाइ छ । टिआई नेपालले सार्वजनिक गरेको विवरणअनुसार नेपालका लागि सूचकाङ्क निर्धारण गर्दा विश्व बैङ्क, विश्व आर्थिक मञ्च, बर्टेल्सम्यान फाउन्डेसन, ग्लोबल इन्साइट, वल्र्ड जस्टिस प्रोजेक्ट, भी–डेमलगायतका अन्तरराष्ट्रिय संस्थाका तथ्याङ्कलाई आधार बनाइएको उल्लेख गरिएको छ ।



No ad available.


No ad available.