22nd October 2026, Thursday

अल्बर्टाका दुई तिहाइभन्दा बढी मतदाताद्वारा क्यानडामै रहन चाहेको स्पष्ट सन्देश

Post Image
1 दिन अगाडी

News by: helpline

एजेन्सी । अल्बर्टाका दुई तिहाइभन्दा बढी मतदाताले आफूहरू क्यानडामै रहन चाहेको स्पष्ट सन्देश दिएका छन्। तेलको धनी मानिने क्यानडाको अल्बर्टा प्रान्तका मतदाताहरूले देशको अखण्डताको पक्षमा ठूलो जनमत प्रकट गरेका हुन् ।

सोमबार सम्पन्न निर्वाचनको प्रारम्भिक नतिजाअनुसार उनीहरुले क्यानडाबाट छुट्टिने प्रस्तावलाई स्पष्ट रूपमा अस्वीकृत गरेको देखिन्छ । प्रारम्भिक जनमत संग्रहको नतिजाले प्रधानमन्त्री मार्क कार्नीको राष्ट्रिय एकताको अभियानलाई ठूलै बल पुगेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार युद्ध र क्यानडालाई ५१ औं राज्य बनाउने धम्कीहरूबीच आएको यो नतिजालाई क्यानडाको राजनीतिक वृत्तमा निकै अर्थपूर्ण रूपमा हेरिएको छ ।

 निर्वाचन अधिकारीहरूका अनुसार १५ लाखभन्दा बढी मत गणना हुँदा ७६ प्रतिशत मतदाताले क्यानडामै रहनुपर्ने पक्षमा मतदान गरेका छन् । अन्तिम गणना सकिँदा, जनमत संग्रहका माध्यमबाट अलग्गिने प्रस्तावलाई मतदाताको ठूलो बहुमतले अस्वीकार गरेको देखिने सम्भावना छ; यसले अल्बर्टामा रहेको पृथकतावादी भावनालाई तत्कालका लागि पूर्णविराम लगाउन सक्छ। यसले दशकौँदेखि भित्रभित्रै चर्चामा रहेको ’अलग हुने’ विचारलाई पुनः राजनीतिको मूलधारबाट धकेलेर किनारामा पुर्‍याउने अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

 अल्बर्टाको पृथकतावादी आन्दोलनका नेताहरूका लागि, जनमत सर्वेक्षणहरू हेर्दा यो नतिजा अपेक्षित नै थियो; तैपनि, एक वर्षभन्दा बढी समयसम्म अभियान चलाएर अलग हुने विषयमा मतदान गराउन जोड दिएका उनीहरूका लागि यो नतिजा निराशाजनक रह्यो। नतिजा सार्वजनिक भएपछि एक वाक्यमा आफ्नो प्रतिक्रिया दिन आग्रह गर्दा, पृथकतावादी नेता मिच सिल्भेस्टरले केवल यति भनेः “खुसी छैन।“



No ad available.


No ad available.