24th December 2025, Wednesday

विश्वासको मत नपाएपछि मधेशका मुख्यमन्त्रीद्वारा राजीनामा

Post Image
1 महिना अगाडी

News by: helpline

जनकपुरधाम । मधेशका मुख्यमन्त्री जितेन्द्र सोनालले विश्वासको मत नपाउने देखेपछि सदनमा राजीनामा घोषणा गर्नुभएकोमा प्रदेश प्रमुख सुमित्रा भण्डारी सुवेदीलाई राजीनामा पत्र बुझाउनु भएको छ । आज साँझ प्रदेश प्रमुख कार्यालय पुगेर  उहाँले प्रदेश प्रमुख सुवेदीलाई मुख्यमन्त्री पदबाट राजीनामा दिएको पत्र बुझाउनु भएको हो । सोनलले आजै बसेको प्रदेशसभा बैठकमा राजीनामा घोषणा गर्नुभएको थियो । मुख्यमन्त्री सोनलले आजै विश्वासको मत पनि लिने कार्यसूची थियो । तर, मत नपाउने देखेपछि  राजीनामा दिनु भएको हो ।

१०७ सदस्यीय प्रदेश सभामा  सरकारको लागि ५४ मत आवश्यक बहुमत हो । जनमतबाट जनस्वाराज पार्टीमा सनाखत गर्नुभएका निवर्तमान मुख्यमन्त्री सतिशकुमारसिंह र त्रिभुवन शाह प्रदेश  सभामा अनुपश्थित हुनुभएको थियो   ।

मधेश प्रदेश सभामा सत्ता गठबन्धन लोसपाको ८, जसपा नेपालको १८, जनमतको १३, नेकपा माओवादी केन्द्रको ९ र एकीकृत समाजवादीको ७ सिट छ ।तर मत दिने आश्वासन दिएको संघीय समाजवादी पार्टीका सांसद बिमला अन्सारी आज अनुपस्थित हुनुभयो । माओवादी केन्द्रका प्रदेश सांसद रहवर अन्सारी र माला राईले आज सदनमै विद्रोह नै गर्नुभयो  ।

नेपाली कांग्रेस र एमालेलाई पाखा लगाएर मुख्यमन्त्री बन्नु भएका सोनल नेतृत्वको सरकार २५ दिनमै ढलेको हो । सोनलले आज शनिबार मधेस प्रदेशसभामा विश्वासको मत लिने कार्यक्रम थियो ।

सोनल संविधानको धारा १६८ (२ ) बमोजिम असोज २९ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो  । सोनल गएको असोज २९ गते जनता समाजवादी पार्टी, जनमत, माओवादी केन्द्र, लोसपा, एकीकृत समाजवादी गरी पाँच दलका ५६ सांसदको समर्थनमा मुख्यमन्त्री बन्नु भएको थियो ।

मुख्यमन्त्री बनाउन समर्थन गरेका सांसद विपक्षी कित्तामा उभिएपछि सोनलले विश्वासको मत नपाउने सुनिश्चित भएको थियो । त्यसपछि उहाँले राजीनामा दिनु भएको हो । 



No ad available.


No ad available.