14th April 2026, Tuesday

धादिङ बस दुर्घटना छानबिन कार्यदलले प्रतिवेदन सरकारलाई बुझायो

Post Image
1 महिना अगाडी

News by: helpline

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष धादिङ बस दुर्घटना छानबिन कार्यदलले प्रतिवेदन बुझाइएको छ ।

गत फागुन ११ गते पृथ्वी राजमार्गअन्तर्गत पोखराबाट काठमाडौं आउँदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुबस राति धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसेगौँडाबाट त्रिशूली नदी किनारमा खसेर दुर्घटना भएपछि सरकारले सो घटनाको अध्ययनका लागि कार्यदल गठन गरेको थियो । बस दुर्घटनामा परी बसमा सवार ४४ जना यात्रुमध्ये १९ जनाको मृत्यु हुनुका साथै २५ जना घाइते भएका थिए । उक्त घटनाको छानबिन गर्न सरकारले गृह मन्त्रालयका सहसचिव ऋषिराम तिवारीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो ।

 प्रतिवेदन बुझाउँदै कार्यदलका संयोजक तिवारीले घटनास्थल निरीक्षण, सवारीसाधनको यान्त्रिक परीक्षण, यात्रुहरुसँग सोधपुछ तथा सडक पूर्वाधारको अवस्थाको अध्ययन गरेर प्रतिवेदन तयार गरिएको बताउनुभयो । उहाँले सवारी साधनमा कुनै यान्त्रिक खराबी नभेटिएको र चालकले मादक पदार्थ सेवन गरेको प्रमाण पनि फेला नपरेको उल्लेख गर्नुभयो । संयोजक तिवारीले चालकमा थकान रहेको देखिएको र सडक सुरक्षा पूर्वाधार पनि अपर्याप्त रहेको कारण दुर्घटना घटेको निष्कर्ष कार्यदलले निकालेको बताउनुभयो ।

उहाँले उपलब्ध तथ्य तथा प्रमाणको विश्लेषण गर्दा चालकले कुनै कारणवश सवारीमाथि प्रभावकारी नियन्त्रण कायम राख्न नसक्दा बस अचानक अनियन्त्रित भई सडकबाट तल खसेर दुर्घटना भएको देखिएको बताउनुभयो । चालकमा देखिएको थकान, रात्रिकालीन सवारी सञ्चालन तथा सम्भावित ध्यान विचलनका कारण दुर्घटना भएको निष्कर्ष प्रतिवेदनमा उल्लेख गरिएको उहाँको भनाइ छ ।



No ad available.


No ad available.