24th February 2026, Tuesday

देशभरका छ हजार ७४३ वटै वडामा मतदाता शिक्षा कार्यक्रम जारी

Post Image
3 दिन अगाडी

News by: helpline

काठमाडौं । निर्वाचन आयोगले आमनागरिकलाई मताधिकारको महत्व र मतदानको प्रक्रियाका विषयमा जानकारी दिने उद्देश्यले स्वीकृत कार्यक्रम अनुसार देशभरका छ हजार ७४३ वटै वडामा मतदाता शिक्षा कार्यक्रम जारी रहेकोे जनाएको छ ।

आयोगले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा यही फागुन ३ देखि १७ गतेसम्म देशभरका ७५३ स्थानीय तहका छ हजार ७४३ वटै वडामा एकएक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिएको जानकारी गराइएको हो । आम मतदाताको बस्ती र घरदैलोमा पुगेर नमूना मतपत्रको माध्यमबाट निर्वाचनको महत्व र मतदान प्रक्रियाबारे मतदातालाई जानकारी गराउने कार्य खटिएका स्वयंसेवकबाट भइरहेको आयोगका प्रवक्ता सीता पुन श्रीसले जानकारी दिनुभयो ।

मतदाता शिक्षा कार्यक्रम प्रयोजनका लागि आयोगले स्थानीय तहमा यसअघि तोकेका सम्पर्क व्यक्तिलाई नै निर्वाचन मतदाता शिक्षा कार्यक्रमको अनुगमनकर्ता तोकी अभिमुखीकरण कार्यक्रमसमेत सम्पन्न भइसकेको छ । आयोगले निर्वाचन सामग्री र मतपत्र जिल्ला जिल्लामा पुगेको जनाएको छ । यसैगरी निर्वाचन शिक्षा प्रदान गर्ने उद्देश्यले आयोगको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र अन्तर्गतको मतदाता शिक्षा एकाइले हालसम्म ३४५ वटा सामग्री आयोगबाट स्वीकृत गराई आयोगको आधिकारिक फेसबुक पेज, एक्स, टिकटक र युट्युबमा राखिएको पनि आयोगले जनाएको छ ।

यसेगरी . मतदाता शिक्षा कार्यक्रम प्रवद्र्धनका लागि आयोगले उत्पादन गरेका संवादमूलक भिडिओ सन्देश, गीति सन्देश, लघु भिडिओ तथा जिङ्गलहरू प्रसारण सुरु गरेको छ । आसन्न निर्वाचनको प्रचारप्रसार र मतदाता शिक्षालाई थप प्रभावकारी बनाउन आयोगले राष्ट्रिय कलाकार, सोसल मिडियाका कन्टेन्ट क्रियटर र इन्फ्लुयन्सरसँग सहकार्यका लागि छलफल गरेको छ ।



No ad available.


No ad available.