22nd October 2026, Thursday

दसैं मनाउन साढे पाँच लाख बढीले छोडे उपत्यका,गाउँ घरमा चहलपहल

Post Image
1 दिन अगाडी

News by: helpline

काठमाडौं । बडादसैं मनाउन पाँच लाख ७६ हजार ५७८ जनाले काठमाडौँ उपत्यका छाडेका छन् ।

 काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आजसम्म ७९ हजार ६७६ वटा सवारीसाधनमार्फत पाँच लाख ७६ हजार ५७८ जना उपत्यकाबाट बाहिरिएका हुन् । अहिले दसैँ नजिकिँदै जाँदा अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायका सिलसिलामा काठमाडौँ उपत्यकामा बसोबास गर्दै आएका नागरिकहरू आफ्नो जन्मथलो फर्किन थालेपछि उपत्यकाका प्रमुख नाकामा यात्रुको चहलपहलसहित चाप बढेको छ । उपत्यका छाड्ने यात्रुमध्ये दुई लाख २७ हजार ७५५ जना महिला र तीन लाख ४८ हजार ८२३ जना पुरुष रहेका छन् । दसैँ मनाउन घर फर्किने क्रमसँगै लामो तथा छोटो दूरीका सार्वजनिक सवारीसाधनमा यात्रुको चाप बढ्दै गएको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार नागढुङ्गा, फर्पिङ, थानकोट, भीमढुङ्गा, तीनपिप्ले, साँखु, भक्तपुर र भट्टेडाँडालगायतका नाकाबाट यात्रु बाहिरिने क्रम जारी छ। यी नाकामा दसैँका लागि घर फर्किने यात्रुको चाप बढ्दै गएपछि सवारीसाधनको आवागमन व्यवस्थापनमा ट्राफिक प्रहरीले विशेष ध्यान दिएको छ ।

दसैँ, तिहारलगायत चाडपर्वका समयमा यात्रुको सुरक्षा सुनिश्चित गर्न र सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरी चौबीसै घण्टा सडकमा खटिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। दसैँ नेपालीहरूको प्रमुख सांस्कृतिक तथा पारिवारिक पर्व भएकाले यस अवसरमा देशका विभिन्न भागमा रहेका नागरिक आफ्नो घर फर्किने गर्छन् ।

पत्यकामा अध्ययन, रोजगारी र व्यवसायका लागि बसोबास गर्दै आएका नागरिक गाउँघर फर्किन थालेसँगै राजधानीका सडक सुनसान जस्तै बन्न थालेका छन् भने गाउँघरतिर मानिसहरुको चहलपहल बढेको छ ।



No ad available.


No ad available.