22nd October 2026, Thursday

संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध : प्रधानमन्त्री शाह

Post Image
1 महिना अगाडी

News by: helpline

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको बताउनुभएको छ ।

 संविधान दिवसको अवसरमा संविधान दिवस मूल समारोह समितिले शनिबार आयोजना गरेको कार्यक्रममा उहाँले सहिदका रगतले लेखिएको संविधान, कामले पूरा गर्ने बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, “संविधानप्रतिको निष्ठा र यसको पालनामा हामी पूर्ण प्रतिबद्ध छौँ, म यो बाचा आज फेरि दोहोर्‍याउँछु । संविधान जारी भएको दिन हरेक वर्ष आउँछ तर संविधान पूरा हुने दिन हामीले आफैँ ल्याउनुपर्छ, हरेक इमानदार निर्णयबाट, हरेक पारदर्शी नियुक्तिबाट, नागरिकको घरदैलोमा पुग्ने हरेक सेवाबाट ।”

जनताले सुशासन, विकास, समृद्धि र सामाजिक न्याय मागेका बताउँदै उहाँले सरकारको हरेक कदम त्यही आकाङ्क्षातर्फ केन्द्रित रहेको र रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रधानमन्त्री शाहले प्रतिस्पर्धात्मक बहुदलीय लोकतन्त्र, मानव अधिकार र कानुनी राज्य हाम्रा लागि सर्तहरू नभइ हाम्रो राष्ट्रिय जीवनको आधार भएका बताउनुभयो । प्रधानमन्त्री शाहले भन्नुभयो, “यो सुरुवात हो, अन्त्य होइन । भ्रष्टाचार र दण्डहीनताको जरो गहिरो छ । तर त्यो जरो उखेल्ने हातहरू अब झन् बलिया छन्, झन् धेरै छन् ।

विकासका लागि सुशासन अनिवार्य पूर्वशर्त हो भन्ने कुरामा सरकार सचेत छ ।” वर्तमान सरकारले सुशासन कायम गर्न प्रशासनिक संरचनाको उपयुक्त आकार निर्धारण, भ्रष्टाचारविरूद्ध शून्य सहनशीलता, प्रशासन यन्त्रमा राजनीतिक तटस्थता र सरकारी एवं सार्वजनिक पदमा योग्यतामा आधारित नियुक्ति प्रक्रिया अवलम्बन गरेको उहाँको भनाइ थियो । प्रधानमन्त्री शाहले भोटेकोशी बाढीबाट भएको क्षति हाम्रा लागि अकल्पनीय र अपुरणीय भएको विशेष घडीमा विपद् व्यवस्थापन एवं उद्धारमा सहयोग गरेका सबै मित्रराष्ट्र, अन्तर्राष्ट्रिय समुदाय एवं संघसंस्था, निजी क्षेत्र, राष्ट्रसेवक कर्मचारी, आम नागरिक तथा देशवासीप्रति आभार प्रकट गर्नुभयो ।

प्रधानमन्त्री शाहले नेपालको राजनीतिक व्यवस्थाको परिवर्तन र सुशासनको मागगरी गरिएका आन्दोलनमा आफ्नो ज्यान आहुती गर्ने सम्पूर्ण ज्ञात–अज्ञात सहिदहरु तथा ऐतिहासिक जेनजी आन्दोलनमा सहादत प्राप्त गर्नुभएका जेनजी सुशासन योद्धाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभयो ।



No ad available.


No ad available.