24th February 2026, Tuesday

सुदूरपश्चिम समाजको १६ औं साधारण सभा काठमाडौंमा सम्पन्न

Post Image
1 महिना अगाडी

News by: helpline

काठमाडौं । सुदूरपश्चिम समाजको १६ औं साधारण सभा आज शनिबार सम्पन्न भएको छ ।

साधारणको सभाको समुद्घाटन समाजका संस्थापक अध्यक्ष एवं वरिष्ठ समाजसेवी मायाप्रसाद भट्टले पानसमा बत्ति बालेर गर्नुभएको थियो ।

नेपालको सुदूरपश्चिम क्षेत्रबाट काठमाडौं आएर स्थायी वा अस्थायी बसोबास गरेका नागरिकहरुलाई संगठित गर्दै आपसी सहयोग सद्भावका साथै सुदूर पश्चिमको बिकासमा कसरी योगदान दिन सकिन्छ भन्ने उद्येश्यले सो संस्थाको स्थापना भएको संस्थापक अध्यक्ष भट्टले उल्लेख गर्नुभयो । साधारण सभाको उद्घाटनका क्रममा सुदूरपश्चिमका महिलाहरुको सांस्कृतिक समूहले सगुन गायन प्रस्तुत गरेका थिए ।

 साधारण सभाको विशेष आकर्षणको रुपमा डा. हरिदत्त पाण्डेका नवप्रकाशित साहित्यिक कृतिहरू ‘सेतीकालीका छाल’ र ‘मित्थ्यारी’ को लोकार्पण रहेको थियो । ती कृतिहरुको लोकार्पण प्रमुख अतिथि भट्टले गर्नु भएको थियो । विमोचित कृति ‘सेतीकालीका छाल’ माथि समीक्षात्मक टिप्पणी गर्दै डा. दामोदर पुडासैनी ‘किशोर’ ले कृति आञ्चलिकताले भरिपूर्ण सरल तथा मिठासपूर्ण रहेको बताउनु भएको थियो ।

अर्को कृति ‘मित्थ्यारी’ माथि साहित्यकार नगेन्द्रराज रेग्मीले समीक्षात्मक टिप्पणी प्रस्तुत गर्दै सो कृति उत्कृष्ट रहेको र अत्यन्त पठनीय रहेको बताउनु भयो । कृतिहरुको लोकार्पणकै सिलसिलामा समाजको तर्फबाट कृतिहरुका स्रष्टा डा. हरिदत्त पाण्डे लगायत कृतिका समीक्षाकद्वय डा. दामोदर पुडासैनी ‘किशोर’ र नगेन्द्रराज रेग्मी लगायतका साहित्यकारहरु डा. शैलेन्दु प्रकाश नेपाल, विदुर गौतम, नवराज रिजाल र राम संजेललाई कदरपत्र प्रदान गरी सम्मान गरिएको थियो ।

समाजले संस्थापक अध्यक्ष माया प्रकाश भट्टलाई समेत कदर पत्र प्रदान गर्दै सम्मान गरेको थियो । कार्यक्रममा सुदूर पश्चिमबाट काठमाडौंमा आएर बसोबास गरेका बिभिन्न ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।

 



No ad available.


No ad available.