23rd August 2026, Sunday

सर्वदलीय बैठकद्वारा सामाजिक सद्भाव र शान्ति कायम राख्न अपिल

Post Image
3 हप्ता अगाडी

News by: helpline

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा बुधबार बिहान सिंहदरबारमा सम्पन्न सर्वदलीय बैठकले सुनसरीलगायत देशका विभिन्न जिल्लामा विकसित संवेदनशील घटनाक्रम र त्यसबाट उत्पन्न असहज परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै सामाजिक सद्भाव र शान्ति कायम राख्न अपिल गरेको छ ।

 सर्वदलीय बैठकले सात बुँदे संयुक्त वक्तव्य जारी गर्दै उत्पन्न परिस्थितिलाई सामान्यीकरण गर्न, घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न र पीडित पक्षलाई उचित क्षतिपूर्तिसहित राहत उपलब्ध गराउन नेपाल सरकारको ध्यानाकर्षण गरेको छ । यसैगरी, नेपालको पहिचान विविधताबीचको एकता, सहिष्णुता र सहअस्तित्व रहेको उल्लेख गर्दै सामाजिक सद्भाव खल्बल्याउने कुनै पनि अवाञ्छित गतिविधि तथा उत्तेजनामा नलाग्न आमनागरिकलाई आग्रह गरेको छ । आवेग र मुठभेडले समस्याको समाधान नगरी थप जटिलता निम्त्याउने भएकाले संयमता अपनाउन देशवासीसँग अपिल गरेको छ ।

लोकतन्त्रमा जस्तोसुकै जटिल असन्तुष्टि र समस्याको समाधान शान्तिपूर्ण संवाद र सहमतिबाट सम्भव हुने भन्दै बैठकले सम्बन्धित सबै पक्षलाई आफ्ना माग तथा असन्तुष्टि शान्तिपूर्ण रूपमा राख्न आह्वान गरेको छ । सामाजिक सद्भाव र दिगो शान्ति कायम राख्न केन्द्रको प्रयासले मात्र सम्भव नहुने भन्दै प्रदेश, जिल्ला र स्थानीय तहमा तत्काल सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गर्न आआफ्ना पार्टीका विभिन्न तहका समितिलाई निर्देशन दिने निर्णय गरेको छ । बैठकले यस्ता संवादलाई तल्लो तहसम्म पुर्याई नागरिकस्तरमा विश्वासको वातावरण निर्माण गर्न तथा स्थानीय धार्मिक अगुवा, नागरिक समाज र स्थानीय प्रशासनलाई समेत सहभागी गराएर मुलुकमा शान्ति सुव्यवस्था कायम गर्न सम्बद्ध पक्षसँग अनुरोध गरिएको छ । त्यसैगरी, यस्ता प्रकृतिका दुःखद् तथा संवेदनशील घटना भविष्यमा देशका कुनै पनि भूभागमा दोहोरिन नदिन राजनीतिक दलको केन्द्रीय तह गम्भीर रहेको जनाउँदै आवश्यक पहलकदमी, निरन्तर समन्वय र अनुगमनसहित नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

बैठकले संवेदनशील अवस्थामा सामाजिक सञ्जाललगायतका माध्यमबाट फैलिन सक्ने भ्रामक समाचार, घृणास्पद अभिव्यक्ति र अफवाहले परिस्थिति थप भयावह बनाउन सक्ने भन्दै सामाजिक सञ्जालको जिम्मेवार प्रयोग गर्न आमनागरिकलाई आग्रह गरेको छ । त्यस्तै यस किसिमको संवेदनशील घटनाबाट हुनसक्ने क्षतिको न्यूनीकरण तथा रोकथाम गर्न आमसञ्चारमाध्यमका महत्त्वपूर्ण भूमिका हुने भएकाले सोहीअनुसार अझ संयमित, जिम्मेवार र तथ्यपरक सूचनामात्र सम्प्रेषण गर्न आसञ्चारमाध्यमको ध्यानाकर्षण गरेको छ ।

 सुनसरीको देवानगन्ज घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गरी शोकाकूल परिवारमा समवेदना, घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनासहित सामाजिक सद्भाव र दिगो शान्ति स्थापनाका पक्षमा सर्वदलीय बैठकले आब्हान गरेको छ ।



No ad available.


No ad available.