25th December 2025, Thursday

सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा अब एकैसाथ सुनुवाइ गर्ने

Post Image
1 घण्टा अगाडी

News by: helpline

काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै दायर सबै मुद्दा एकैसाथ राखेर सुनुवाइ हुने भएको छ ।

सर्वोच्च अदालतले विघटित प्रतिनिधिसभामा सांसद रहेका नेपाली कांग्रेसका ५७ संसदसहित अन्य दलका निवर्तमान सांसदले दायर गरेको रिटलाई साथै राखेर पेस गर्न आदेश गरेको हो ।

आज बुधबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, हरिप्रसाद फुयाँल, मनोजकुमार शर्मा र नहकुल सुवेदीको संबैधानिक इजलासले उनीहरूलाई यस अघि गत मंसिर २३ गते नेपाली कांग्रेसका तर्फबाट श्याम घिमिरे सहित ८ जनाले दायर गरेको रिटमा पनि सरिक गराउने आदेश गरेको हो ।

यो आदेशसँगै अब संसद् विघटनसम्बन्धी सबै मुद्दा एकै ठाउँमा राखेर सुनुवाइ हुने भएका छन् । सर्वोच्चमा यसअघि कानुन व्यवसायीका तर्फबाट दायर भएका १२ थान रिट र नेकपा एमालेका तर्फबाट दायर भएको रिट विचाराधीन छन् ।

कानुन व्यवसायीले दायर गरेको रिटमा सबै विपक्षीको लिखित जवाफ पेस भइसकेको छ भने एमाले र नेपाली कांग्रेसले दायर गरेका रिटमा लिखित जवाफ आउने क्रम जारी छ ।

कांग्रेसका ५७ सांसदले संसद पुनर्स्थापनाका लागि यसअघि कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, सचेतक सुशीला थिङसहित ८ निवर्तमान सांसदले दिएको निवेदनका साथ सरिक हुन पाउँ भनी पूरक निवेदन दिएपछि प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, सपना प्रधान मल्ल, हरिप्रसाद फुयाल र डा. मनोजकुमार शर्मा र नहकुल सुवेदीको संवैधानिक इजलासले सँगै राखेर सुनुवाइ गर्न आदेश दिएको हो ।

हिजो मंगलबार ५७ सांसदको हस्ताक्षरसहितको पूरक निवेदन सर्वोच्च अदालतमा दर्ता भएको थियो । कांग्रेससहित जनमत पार्टीकी गोमा लाभ सापकोटा, स्वतन्त्र सांसद योगेन्द्र मण्डल र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीकी हसिना खातुनले पनि संसद् पुनःस्थापनाको पक्षमा हस्ताक्षर गर्नुभएको छ । घिमिरे सहितका कांग्रेसका सांसदले मंसिर २३मा दायर गरेको रिटमा सर्वाेच्चले पुस २ गते पहिलो सुनुवाइ भएर कारण देखाऊ आदेश जारी गरेको थियो । 

संवैधानिक इजलासले पछिल्लो निवेदकलाई पनि सामेल गराउने आदेश दिएसँगै यसअघि दर्ता भएका कांग्रेसका ८ निवर्तमान सांसद, एमालेका निवर्तमान सांसद र अन्य डेढ दर्जन रिटमाथि अब एकसाथ राखी सुनुवाइ हुनेछ ।



No ad available.


No ad available.