24th February 2026, Tuesday

सुरक्षालाई थप सुदृढ बनाउने केन्द्रीय सुरक्षा समितिको निर्णय,रौतहट घटनाबारे सद्भाव कायम गर्न आह्वान

Post Image
2 दिन अगाडी

News by: helpline

काठमाडौं । केन्द्रीय सुरक्षा समितिको बैठकले निर्वाचन सुरक्षालाई थप सुदृढ र प्रभावकारी बनाउने निर्णय गरेको छ।

गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा शनिबार सिंहदरबारमा बसेको बैठकले यस्तो निर्णय गरेको गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले जानकारी दिनुभयो। प्रवक्ता काफ्लेका अनुसार निर्वाचनका लागि तयार पारिएको ‘एकीकृत निर्वाचन सुरक्षा योजना’ अनुसार नै सबै सुरक्षा निकायले कर्मचारी परिचालन र व्यवस्थापन गरिरहेको ब्रिफिङ सुरक्षा प्रमुखहरूले बैठकमा गरेका थिए।

बैठकले आगामी दिनमा सुरक्षा व्यवस्थालाई थप चुस्त राख्ने सहमति गरेको छ। बैठकमा निर्वाचन अभियानका क्रममा विभिन्न स्थानमा राजनीतिक दलहरूबीच देखिएका विवाद र घटनाहरूको समीक्षा गरिएको थियो। बैठकले गैरकानुनी कार्यमा संलग्न जोसुकैलाई कानुनी दायरामा ल्याउने निर्णय गर्दै सबै राजनीतिक दललाई निर्वाचन आचारसंहिता पालना गर्न आग्रह गरेको छ। यसैगरी बैठकले रौतहटमा भएको पछिल्लो घटनाको सन्दर्भमा सबै पक्षलाई आपसी सद्भाव कायम गर्न आह्वान गरेको छ।

रौतहटको समग्र सुरक्षा व्यवस्था सुदृढ बनाउन सम्बन्धित सुरक्षा संयन्त्रलाई आवश्यक निर्देशन दिइएको प्रवक्ता काफ्लेले बताउनुभयो। गृह मन्त्रालयका सहप्रवक्ता रमा आचार्य सुवेदीले शनिबार साँझ विज्ञप्ति सार्वजनिक गर्नुहुँदै रौतहट, दाङलगायत केही जिल्लामा धार्मिक सहिष्णुता तथा सद्भाव गम्भीर असर पु¥याउने, धार्मिक सद्भाव खल्बल्याउने, राजनीतिक दलका झण्डा जलाउनेलगायत कानुनले निषेध गरेका क्रियाकलाप गरेर सामाजिक सद्भाव र मर्यादामा आँच पु¥याउने घटना भएकोप्रति मन्त्रालयको ध्यानाकर्षण भएको उल्लेख गर्नुभएको छ ।



No ad available.


No ad available.