23rd August 2026, Sunday

सरकार हरेक क्षेत्रमा असफल भएको कांग्रेसको ठहर

Post Image
2 हप्ता अगाडी

News by: helpline

काठमाडौं । नेपाली कांग्रेसले बालेन शाह नेतृत्वको सरकार हरेक क्षेत्रमा असफल भएको दाबी गरेको छ ।

सुनसरीको देवानगञ्जस्थित कप्तानगञ्जको घटनामा सरकारले संयमता गुमाएको र जिम्मेवारी निर्वाह गर्न पूर्ण रूपमा असफल भएको गम्भीर आरोप पनि कांग्रेसले लगाएको छ। बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पार्टी प्रवक्ता देवराज चालिसेले मधेसको घटनामा समाधान खोज्न राज्य संयन्त्र परिचालन गर्नुको सट्टा आफ्ना स्वकीय सचिव र निजी सहयोगीलाई वार्ताका लागि पठाउनु ‘उदेकलाग्दो परिस्थिति’ भएको बताउनुभयो ।

उहाँले सुनसरी र सिरहामा भएको धार्मिक तनावमा सरकारका व्यक्तिहरू फेसबुकमा मात्र सीमित भएको र राज्यको उपस्थिति केवल गोली, लाठी तथा दमनमा मात्रै भेटिएको उल्लेख गर्नुभयो । देशका विभिन्न स्थानमा देखिएको सुरक्षा प्रणालीको कमजोरी र नीतिगत अनभिज्ञताले नागरिकको सुरक्षा झन् जोखिममा परेको कांग्रेसको ठहर छ। सरकारको अस्थिरता नचाहे पनि लोकतान्त्रिक प्रणाली, संवैधानिक मूल्य र नागरिक अधिकारमाथि प्रश्न उठ्दा प्रतिपक्षी दल मौन बस्न नसक्ने प्रवक्ता चालिसेले स्पष्ट पार्नुभयो ।

यसैगरी प्रवक्ता चालिसेले पर्याप्त प्रमाणबिना व्यावसायिक प्रतिष्ठानमा छापा मार्ने, सार्वजनिक रूपमा आरोप लगाउने तथा मन्त्रीहरूबाटै व्यवसायीलाई धम्कीपूर्ण अभिव्यक्ति आउने प्रवृत्तिले लगानीको वातावरण बिग्रिएको र अर्थतन्त्र मन्दीतर्फ उन्मुख भएको बताउनुभयो । सुकुम्बासी व्यवस्थापनका सन्दर्भमा कुरा गर्दै प्रवक्ता चालिसेले चुनावअघि लालपुर्जाको सपना बाँड्ने, पछि आयोगको नाममा समय काट्ने र समय घर्किएपछि डोजर चलाउने शैलीले सरकार नागरिकको समस्याप्रति अनुत्तरदायी रहेको पुष्टि भएको उल्लेख गर्नुभयो ।

 अस्थायी आश्वासनले नभई परिणाममुखी स्थायी समाधान दिनुपर्नेमा कांग्रेसको जोड छ । साथै राष्ट्रको अखण्डता र सार्वभौमसत्तासँग सम्बन्धित विषयमा सरकार प्रमुखले संसद्जस्तो संवेदनशील मञ्चमा बोल्दा संयम देखाउन नसकेको भन्दै प्रधानमन्त्री वालेन्द्र शाहको सीमासम्बन्धी अभिव्यक्ति राष्ट्रहितविपरित र क्षमायोग्य नरहेको टिप्पणी गरिएको छ।

 मल तथा एलपीजी ग्याँसको आपूर्ति, भण्डारण र वितरण प्रणाली प्रभावकारी बनाउन नसक्दा सर्वसाधारणले अनावश्यक सास्ती भोग्नुपरेको आरोप लगाउँदै सुशासन र पारदर्शिताको नारा दिएर सत्तामा आएको वर्तमान सरकार हरेक मोर्चामा असफल हुँदै जनविश्वास गुमाउँदै गएको कांग्रेसको ठहर छ।



No ad available.


No ad available.