22nd October 2026, Thursday

सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात

Post Image
3 हप्ता अगाडी

News by: helpline

काठमाडौं । सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात भएको छ । हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा पुगेका पर्यटकको आवागमन प्रभावित भएको छ ।

निरन्तरको वर्षापछि खुम्बुको माथिल्लो भेगमा हिमपात सुरु भएको हो । स्थानीय प्शासनका अनुसार खुम्बुको उच्च क्षेत्रमा आधा मिटरभन्दा बढी हिउँ जमिसकेको छ । हिमपातका कारण पदयात्रा तथा पर्वतारोहणका लागि माथिल्लो क्षेत्रमा गएका पर्यटकलाई जोखिमयुक्त स्थानतर्फ थप अघि बढ्न रोक लगाइएको छ । भारी हिमपातका कारण सगरमाथा क्षेत्रको इम्जा छे (आइल्यान्ड पिक) क्षेत्रमा रोकिएका सात जना विदेशी पर्यटकको उद्धार गरिएको छ ।

हिमपातका कारण माथिल्लो क्षेत्रमा आवागमन कठिन भएपछि स्थानीय जनप्रतिनिधि तथा स्थानीयवासीको सहयोगमा उनीहरुलाई सुरक्षित स्थानमा ल्याइएको हो । इम्जा छे अर्थात् आइल्यान्ड पिक सगरमाथा राष्ट्रिय निकुञ्जभित्र पर्ने खुम्बु क्षेत्रको महत्वपूर्ण पर्वतारोहण गन्तव्य हो ।

 प्रतिकूल मौसमका कारण माथिल्लो क्षेत्रमा थप पर्यटक तथा पदयात्रीलाई जान नदिन स्थानीय तह र सुरक्षा निकायसँग समन्वय गरिएको छ । हाल सगरमाथा क्षेत्रमा एक हजार दुई सयभन्दा बढी पर्यटक रहेको प्रशासनको भनाइ छ । उनीहरुको अवस्थाबारे स्थानीय तह, प्रहरी तथा अन्य सरोकारवाला निकायमार्फत निरन्तर जानकारी लिइरहेको प्रशासनले जनाएको छ ।



No ad available.


No ad available.