News by: helpline
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित गगनकुमार थापाले नागरिकको विश्वास जित्ने गरी पार्टीलाई रूपान्तरण गर्ने बताउनुभएको छ ।
सभापतिमा निर्वाचित भएपछि शनिबार पार्टी कार्यालय सानेपामा उपस्थित कार्यकर्ता तथा समर्थकलाई सम्बोधन गर्दै थापाले आफूले प्राप्त गरेको जिम्मेवारीलाई अधिकार नभई जवाफदेहिताका रूपमा लिएको उल्लेख गर्नुभयो । ‘तपाईंहरूले विश्वास गरेर पार्टीको जिम्मेवारी सुम्पिनुभएको छ। यो जिम्मेवारीप्रति कृतज्ञता व्यक्त गर्न आएको हुँ। यो परिवर्तनका लागि गरिएको विश्वास हो। यो विश्वासलाई अधिकार सम्झन्नँ, जिम्मेवारी सम्झन्छौँ,’ थापाले भन्नुभयो ।
विशेष महाधिवेशनपछि भएको १५औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुँदैमा मात्रै पार्टी परिवर्तन नहुने उहाँको भनाइ थियो। अब पार्टीको काम गर्ने शैली बदल्नुपर्ने र जिम्मेवारी तथा जवाफदेहिता बढाउनुपर्ने पनि उहाँको भनाइ थियो । सभापतिमा प्रतिस्पर्धा गर्नु भएका श्यामकृष्ण खड्गीलाई धन्यवाद दिँदै थापाले लोकतान्त्रिक अभ्यासले पार्टीलाई जीवन्त बनाउने उल्लेख गर्नुभयो । खड्गीसहित प्रतिस्पर्धामा रहेका सबैलाई सँगै लिएर अघि बढ्ने उहाँको भनाइ थियो। थापाले अहिले नागरिक र कांग्रेसबीचको विश्वास टुटेको उल्लेख गर्दै त्यसलाई पुनःस्थापित गर्न सबै नेता तथा कार्यकर्ता एक ठाउँमा उभिनुपर्ने बताउनुभयो ।
किसान, उद्योगी, व्यवसायीदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीसम्मले भरोसा गर्ने पार्टी बनाउने उहाँको प्रतिबद्धता थियो। ‘नेपाली कांग्रेसलाई माया गर्ने लाखौँ शुभेच्छुकलाई फेरि कांग्रेसमा फर्कन र घरघरमा कांग्रेसलाई स्वागत गर्ने वातावरण बनाउनुपर्छ। नयाँ इतिहास बनाउने तागत लिएर आएका छौँ,’ थापाले भन्नुभयो, ‘बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ।’ महाधिवेशनबाट पारित प्रतिवेदनहरू अध्ययन गर्न एक साताको समय दिइएको जानकारी दिँदै थापाले सबैको सुझाव प्राप्त भएपछि पहिलो केन्द्रीय कार्यसमिति बैठकबाट कार्ययोजना बनाइने उल्लेख गर्नुभयो कांग्रेसले गलत व्यक्तिको पक्षमा नबोल्ने र कसैको अनुचित भार नबोक्ने पनि उहाँले स्पष्ट पार्नुभयो ।
कानुन सबैका लागि समान हुने उल्लेख गर्दै थापाले कुनै व्यक्तिले गल्ती गरे त्यसको जवाफदेहिता सम्बन्धित व्यक्तिले नै लिनुपर्ने उल्लेख गर्नुभयो । १५औँ महाधिवेशनबाट प्राप्त जिम्मेवारीलाई व्यवहारमा उतार्दै पार्टीप्रति नागरिकको विश्वास फर्काउने र कामबाट परिवर्तन प्रमाणित गर्ने आफ्नो लक्ष्य रहेको उहाँको भनाइ थियो। कांग्रेसको यही असोज १८ गतेदेखि २३ गतेसम्म सम्पन्न भएको १५ औं महाधिवेशनले थापालाई सभापतिमा निर्वाचित गरेको हो ।
शनिबार बिहान सभापतिको मतगणना सकिएपनि अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक