News by: helpline
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज घोडेजात्राका अवसरमा नेपाली सेनाद्वारा आयोजित बिशेष समारोहमा सरिक हुनुभएको छ ।
राष्ट्रपति पौडेल घोडेजात्रा–२०८२ का अवसरमा बुधबार सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा सरिक हुनुभएको हो । सो अवसरमा नेपाली सेनाको एक टोलीले राष्ट्रपतिको सम्मानमा सलामी अर्पण गरेको थियो । समारोहमा राष्ट्रपति पौडेलले नेपाली सेनाद्वारा प्रदर्शन गरिएको अश्वकलाको रुचिपूर्वक अवलोकन गर्नुभयो । त्यसक्रममा सेनाका तर्फबाट टाँगन घोडा दौड, शो–जम्प, म्युजिकल राइड, ¥यापिड क्रस र विभिन्न रोचक कलाहरू प्रदर्शन गरिएका थिए । प्रदर्शनका विभिन्न विधामा उत्कृष्ट हुने सातौँ र छैटौँ स्थान प्राप्त गर्ने अधिकृत तथा जवानलाई राष्ट्रपति पौडेलले पुरस्कार प्रदान गर्नुभयो ।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, मन्त्रीगण, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिका साथै उच्च पदस्थ सरकारी अधिकारीको उपस्थिति रहेको थियो । चैत्र कृष्ण औंसीका अवसरमा परापूर्वकालदेखि नै काठमाडौँ उपत्यकामा परम्परागत घोडेजात्रा पर्व विविध कार्यक्रमका साथ मनाउने गरिन्छ । टुँडिखेलमा घोडा दौडाउँदा ’गुरुमापा’ नामक राक्षसको आत्मा कुल्चिने र सहरमा सुख–शान्ति कायम हुने जनविश्वास रहिआएको छ ।
जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले सहरका बालबालिकालाई खाने गरेको थियो। पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे। राक्षसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय स्थानीयबासीमा रहिरह्यो। यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो। सहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ।
यसो गरेपछि वर्षभर बालबालिकालाई गुरुमापाबाट खतरा नहुने विश्वास राजधानीबासीमा छ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक