24th February 2026, Tuesday

रास्वपाको वाचापत्र सार्वजनिक

Post Image
4 दिन अगाडी

News by: helpline

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि ‘वाचा पत्र २०८२’ सार्वजनिक गरेको छ ।

पार्टीले बिहीवार कर्णाली प्रदेशको सुर्खेतमा एक सभाकाबीच वाचा पत्र सार्वजनिक गरेको हो । पार्टीले सार्वजनिक गरेको वाचा पत्रमा राज्य संरचना, अर्थतन्त्र, डिजिटल रूपान्तरण, ऊर्जा, शिक्षा, स्वास्थ्य, कुटनीति र सुशासनका क्षेत्रमा व्यापक नीतिगत परिवर्तनको घोषणा गरेको छ । पार्टीले रुपान्तरणका लागि नीतिगत प्रस्थानका १०० आधारहरु समेत सार्वजनिक वाचा पत्रमा उल्लेख गरेको छ । पार्टीले आफ्नो नेतृत्वमा सरकार गठन भएलगत्तै दलित तथा पछाडि पारिएका समुदायसँग औपचारिक रुपमा क्षमा याचना गर्दै भविष्यमा त्यस्तो हुन नदिने प्रण गर्ने वाचा गरेको छ ।

 २०८२ भदौ २३, २४ मा भएको जेन–जी आन्दोलनका घटनाको छानबिन प्रतिवेदनको पूर्ण कार्यान्वयन गर्ने प्रतिवद्धता समेत पार्टीले गरेको छ । रास्वपाले प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था लागू गर्ने घोषणा गरेको छ । साथै पूर्ण समानुपातिक संसदीय व्यवस्था र सांसद मन्त्री नहुने व्यवस्था र गैरदलीय स्थानीय सरकारजस्ता एजेण्डासहित संविधान संशोधनका लागि राष्ट्रिय बहस थाल्ने वाचा गरेको छ । सार्वजनिक पदमा रहेका सबैको सम्पती छानविन गरी अवैध सम्पती जफत तथा राष्ट्रियकरण गर्नेगरी कार्यविधि बनाउने घोषणा समेत पार्टीले गरेको छ ।

सरकारी सेवामा दलगत आवद्धता अन्त्य गर्ने, भ्रातृ संगठन नबनाउने र निजामती प्रशासनलाई ‘थोरैले धेरै सेवा दिने’, तटस्थ संरचनामा रूपान्तरण गर्ने योजना समेत समावेश गरेको छ ।



No ad available.


No ad available.