24th February 2026, Tuesday

रास्वपा चुनाव बिथोल्न तर्फ लाग्यो :एमाले

Post Image
2 दिन अगाडी

News by: helpline

नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले निर्वाचन बिथोल्न खोजेको आरोप लगाएको छ । शनिबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा निर्वाचनमा जित हासिल गर्न नसक्ने देखिएपछि रास्वपा उच्छृङ्खल गतिविधिमा लागेको दाबी एमालेले गरेको हो । एमाले निर्वाचन प्रचार समितिका संयोजक मीनबहादुर शाहीले निर्वाचन नजिकिँदै जाँदा मुलुकमा भय र त्रासको वातावरण सिर्जना गरिएको बताउनुभयो । उहाँले देशभर एमालेको झण्डा र प्रचार सामग्री जलाउने तथा समुदायबीच द्वन्द्व फैलाउने गतिविधि तीव्र बनेको भन्दै निर्वाचन बिथोल्न रास्वपाले एमालेको झण्डा जलाउने र घृणा फैलाउने कार्य गरिरहेको वताउनुभयो । शाहीले भन्नुभयो, "शान्ति–सुरक्षाको प्रत्याभूति दिन सरकार असफल भएको छ ।" शाहीले आगामी फागुन २१ गते हुने निर्वाचनलाई एमालेले ‘देश बनाउने र जलाउनेबीचको जनमत सङ्ग्रह’ का रूपमा लिएको उल्लेख गर्नुभयो । कथित ‘भोट फर चेन्ज’ को भाष्य कमजोर भएपछि अभद्र व्यवहार, भ्रमपूर्ण सर्वेक्षण सार्वजनिक गरी मतदातालाई प्रभाव पार्न खोजिएको एमालेको आरोप छ । चुनावी परिणाम आफ्नो पक्षमा नआउने देखेपछि रास्वपा चुनाव भाँड्न सक्रिय भएको पुष्टि हुन्छ," शाहीले थप्नुभयो, "रौतहटको गौरमा लगाइएको अनिश्चितकालीन कर्फ्यु यसैको परिणाम हो। यस्तो अवस्थामा स्वच्छ र भयरहित मतदानको अधिकार संरक्षण गर्ने दायित्व सरकारको हो ।" एमालेले निर्वाचन आचारसंहिता उल्लङ्घनका घटना बढेको भन्दै निर्वाचन आयोगको उदासीनताप्रति पनि आपत्ति जनाएको छ । एमालेले निष्पक्ष वातावरण निर्माण गर्न सरकार र आयोगको ध्यानाकर्षण गराएको छ ।

No ad available.


No ad available.