13th June 2026, Saturday

रबि लामिछानेले भने –सीमा बिवाद कुटनीतिक तबरबाट समाधान गर्नु पर्छ, ढोल बजाएजस्तो होइन

Post Image
1 हप्ता अगाडी

News by: helpline

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पाँच दिने भारत भ्रमण सम्पन्न गरी शुक्रबार स्वदेश फर्कनुभएको छ ।

भारतीय जनता पार्टी (भाजपा)का राष्ट्रिय अध्यक्ष नितिन नवीनको निमन्त्रणामा पाँचदिने भारत भ्रमणमा जानुभएका सभापति लामिछाने विभिन्न उच्चस्तरीय भेटवार्ता सम्पन्न गरी शुक्रबार साँझ स्वदेश फर्कनुभएको हो । भारत भ्रमणबाट फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल र भारतको सीमा बिवादबारे पत्रकारहरूसँग कुरा गर्दै लामिछानेले कूटनीतिक माध्यमबाट गरिने विषयहरू महत्वपूर्ण हुने भन्दै ठूलो हल्लामा भन्दा पनि चरणबद्ध तरिकाले अघि बढ्नुपर्ने बताउनु भयो ।

सभापति लामिछानेले कूटनीतिक विषयहरू ढोल बजाएजस्तो नहुने उल्लेख गर्नुभयो । लोकप्रियताका लागि सजिलो हुने भए पनि कूटनीति चाहिँ फरक विषय रहेको लामिछानेको भनाइ छ । यसैगरी लामिछानेले प्रधानमन्त्री बालेन शाहले नेपालले पनि भारतको सीमा अतिक्रमण गरेको भनेर संसद्मा दिएको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालयले दिएको प्रष्टीकरण नै आधिकारिक धारणा भएको बताउनुभयो ।

सरकार प्रमुखले दिएको अभिव्यक्ति विवादित भएपछि सरकारकै निकायबारे आधिकारिक जवाफ आएको भन्दै उहाँले आफ्नो छुट्टै धारणा भने दिनुभएन । लामिछानेलाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धि अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका कार्यवाहक राजदूत डा सुरेन्द्र थापा तथा भारतीय जनता पार्टी (भाजपा)का विदेश मामिला विभागका प्रमुख डा विजय चौथाइवालेले बिदाइ गर्नुभएको थियो ।

 भारत भ्रमणका क्रममा सभापति लामिछानेले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री डा एस जयशङ्कर, गृहमन्त्री अमित शाह र भाजपा अध्यक्ष नवीनसँग छुट्टाछट्टै भेटवार्ता गर्नुभएको थियो । सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डल भाजपाको निमन्त्रणामा गत सोमबार नयाँ दिल्ली प्रस्थान गरेको थियो ।



No ad available.


No ad available.