24th February 2026, Tuesday

पशुपति मन्दिर क्षेत्रमा महाशिवरात्रिको तयारी पूरा

Post Image
1 हप्ता अगाडी

News by: helpline

काठमाडौं । महाशिवरात्रिको लागि पशुपति मन्दिर क्षेत्रमा तयारी सम्पन्न भएको छ ।

महाशिवरात्रिको अवसरमा पशुपति दर्शनका लागि सहज व्यवस्था मिलाउन चार बाटोको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले बिहीबार पत्रकार सम्मेलन गरी बत्तिसपुतली–गौशालाबाट पिंगलास्थान हुँदै धर्मशालालाई बायाँ पारेर चार शिवालय पञ्चदेवल भई दक्षिण ढोकाबाट प्रवेशको व्यवस्था मिलाइएको जनाएको छ ।

 एयरपोर्टतर्फबाट तिलगंगा–राममन्दिर हुँदै वाग्मती तरेर पूर्वढोकाबाट प्रवेश गर्ने दर्शनार्थीको लागि सोही ढोकाबाट बाहिर निस्कने व्यवस्था मिलाइएको कोषका कार्यकारी निर्देशक सुवासचन्द्र जोशीले जानकारी दिनुभयो । जोशीका अनुसार मन्दिर दर्शनका लागि जोरपाटी, कपन, महाँकाल, चाबहिल तर्फबाट आउने भक्तजनहरूको लागि मित्रपार्क, गौरीघाट हुँदै उत्तरढोकाबाट प्रवेश गराई दर्शन गराउने र सोही ढोकाबाट बाहिर फर्किने व्यवस्था मिलाइएको छ । 

 जोशीले रातोपुल, कालोपुल, सिफलबाट आउने भक्तजनको लागि जयवागेश्वरी मन्दिर अगाडिको मछिन्द्र गणेश, दथुटोल हुँदै भूवनेश्वरीको सानो ढोकाबाट प्रवेश गराई शंकराचार्य मठ पूर्वतर्फको आकाशेपुल हुँदै पश्चिम सानो ढोकाबाट प्रवेश गराई पश्चिमतर्फको मूल ढोकाबाट बाहिर निस्कने व्यवस्था मिलाइएको छ । जोशीले दर्शनमार्ग, मेला क्षेत्र र दर्शनार्थीको सुरक्षाका लागि मूल शिविरमा कमान्ड पोस्टसहितको सञ्चार सेवासहितको प्रहरी नियन्त्रण कक्ष स्थापना गरिएको पनि जानकारी दिनुभयो ।

उहाँका अनुसार, पशुपति क्षेत्र मासु, मदिरा निषेधित क्षेत्र भएकाले मासु, मदिरा तथा अन्य लागुपदार्थको बेचबिखन नियन्त्रण गर्न प्रहरी परिचालन गरिन छ । मेलामा स्वास्थ्य शिविर, पानीको व्यवस्था, स्वयंसेवक परिचालन गरिनेछ । यस वर्षको महशिवरात्री फागुन ३ गते आइतबार मनाइँदै छ ।



No ad available.


No ad available.