22nd October 2026, Thursday

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा चयन

Post Image
3 हप्ता अगाडी

News by: helpline

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको वरिष्ठ नेतामा चयन हुनुभएको छ ।

 बिहिबार बसेको एमालेको केन्द्रीय कमिटीको तेस्रो बैठकबाट पूर्वराष्ट्रपति भण्डारी वरिष्ठ नेताको जिम्मेवारीमा चयन हुनुभएको हो । केन्द्रीय कमिटीको बैठकअघि आज बिहिबार नै भएको सो पार्टीको सचिवालयको बैठकले वरिष्ठ नेतामा भण्डारीसहित केन्द्रीय सदस्यमा मनोनयन हुने सूची पारित गरेको थियो । पार्टीका पूर्वउपाध्यक्ष भण्डारीलाई पार्टीको सदस्यता दिने÷नदिने विषयमा आन्तरिक बहस चलेकामा हाल सर्वम्मतिले वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय भएको हो ।

 बैठकपछि प्रतिक्रिया दिँदै एमाले सचिव पद्मा अर्यालले भण्डारीजस्तो अनुभवी र सम्मानित नेतालाई सदस्यता दिइसकेपछि विशुद्ध पार्टी सदस्य बनाएर मात्रै राख्न उपयुक्त नहुने भएकाले वरिष्ठ नेताको जिम्मेवारी दिइएको बताउनुभयो । अर्का सचिव महेश बस्नेतले केन्द्रीय कमिटीको बैठक सौहार्दरुपमा सम्पन्न भएको उल्लेख गर्दै ‘नेतृत्व र पार्टीमाथि भएको हमलालाई निराश’ बनाउँदै पार्टीलाई एकताबद्ध तथा उत्साहित बनाउँदै बैठक सम्पन्न भएको जिकिर गर्नुभयो ।

यही असोज ५ गतेदेखि जारी एमालेको केन्द्रीय कमिटीको बैठक आज सकिएको छ । केन्द्रीय कमिटीको बुधबारको बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन पारित भएको थियो ।



No ad available.


No ad available.