22nd October 2026, Thursday

प्रधानमन्त्री शाहद्वारा बूढीगण्डकी नदीको तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन आग्रह

Post Image
1 हप्ता अगाडी

News by: helpline

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बूढीगण्डकी नदीको तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन, जोखिमयुक्त पुल तथा सडकबाट आवतजावत नगर्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गर्नुभएको छ।

 प्रधानमन्त्री शाहले आज सामाजिक सञ्जालमार्फत गोरखाको चुमनुब्री गाउँपालिका –६ स्थित लोक्पा र चुम्लिङबिच बिहान गएको पहिरोका कारण बूढीगण्डकीमा लेदोसहितको बाढी आएको र त्यसबाट तल्लो तटीय क्षेत्रमा ठुलो क्षति पुगेको जानकारी दिनुभएको छ । बाढीमा परी पाँचजना बेपत्ता भएको र उनीहरूको खोजी तीव्र पारिएको उहाँले बताउनुभएको छ। उहाँका अनुसार बाढीले झोलुङ्गे तथा पक्की पुल, टेलिफोन टावर, विद्युत्का खम्बा, निर्माणाधीन बूढीगण्डकी जलविद्युत् आयोजनाको क्याम्प क्षेत्र, निर्माण उपकरण तथा आसपासका घरमा क्षति गरेको छ । बाढीको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय आरुघाटबाट प्रहरी टोली खटिएर नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको थियो ।

 प्रधानमन्त्री शाहले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट बिहान ६ः०० बजे गोरखा, धादिङ, तनहुँ, चितवन, नवलपरासी (पूर्व) र नवलपरासी (पश्चिम) का २२१ जना प्रतिकार्यकर्तालाई परिचालनका लागि एसएमएस पठाइएको जानकारी दिनुभएको छ । जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र र बाढी पूर्वानुमान महाशाखाबाट गोरखा, धादिङ तथा चितवनको बेनीघाटसम्मका बासिन्दालाई दुई पटक गरी करिब दुई लाख एसएमएसमार्फत पूर्वसूचना पठाइएको उहाँले उल्लेख गर्नुभएको छ ।

 बाढी प्रभावित गोरखाको सल्लेरीस्थित निर्माणाधीन जलविद्युत् आयोजनाका १२ कर्मचारीसहित ४८ जनालाई उद्धार गरी सुरक्षित स्थानमा राखिएको प्रधानमन्त्री शाहले बताउनुभएको छ । प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाली सेनाका १२७, नेपाल प्रहरीका १३३ र सशस्त्र प्रहरी बल, नेपालका १७७ गरी ४३७ जना सुरक्षाकर्मी परिचालन गरिएको छ । नेपाली सेनाका चारवटा हेलिकप्टरसमेत उद्धार कार्यमा खटाइएको उहाँले जानकारी दिनुभएको छ ।

बाढीको कारण पत्ता लगाउन भूगर्भविद्सहितको तीन सदस्यीय टोली ड्रोनसहित परिचालन गरिएको छ भने नेपाल प्रहरीको विपद् प्रतिकार्य तथा तालिम केन्द्रमा ५० जनाको टोलीलाई आवश्यकताअनुसार परिचालन गर्न तयारी अवस्थामा राखिएको छ। गोरखा, लमजुङ र तनहुँको जिल्लास्तरीय द्रुत प्रतिकार्य टोली तथा स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखिएको छ । प्रभावित क्षेत्रमा अलपत्र परेका पर्यटकको उद्धारका लागि सम्बन्धित मन्त्रालय र कम्पनीलाई निर्देशन दिइएको छ ।

सरकारले प्रभावित क्षेत्रको जनजीवन सामान्य बनाउन, आवश्यक राहत उपलब्ध गराउन र क्षतिग्रस्त भौतिक पूर्वाधार पुनःसञ्चालन गर्न आवश्यक कदम अघि बढाएको प्रधानमन्त्री शाहले बताउनुभएको छ ।



No ad available.


No ad available.