News by: helpline
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रीपरिषद् विस्तार गर्नुभएको छ ।
गृहमन्त्रीमा सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा महावीर पुनलाई नियुक्त गरेर प्रधानमन्त्री शाहले मन्त्रिपरिषद बिस्तार गर्नुभएको हो । नवनियुक्त दुबै मन्त्रीले मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभयो । राष्ट्रपति कार्यालयमा आयोजित शपथ समारोहमा नेपालको संविधानको धारा ८० बमोजिम राष्ट्रपति पौडेलसमक्ष मन्त्रीद्वयले पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।
सपथ लगत्तै सिंहदरवार पुगेर नवनियुक्त मन्त्रीद्वयले आजै पदबहाली गर्नुभयो । शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, प्रतिनिधि सभाका उपसभामुख रुबी कुमारी, राष्ट्रिय सभाका उपाध्यक्ष लिलाकुमारी भण्डारी लगायतको उपस्थिति थियो । गुरुङ पूर्व गृहमन्त्री हुनुहुन्छ भने पुनपनि पूर्व शिक्षामन्त्री हुनुहुन्छ । गुरुङ रास्वपाका प्रतिनिधिसभा सदस्य हुनुहुन्छ भने पुन स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको हो ।
पहिलो पटक २०८२ चैत १३ गते गृहमन्त्री बन्नुभएका गुरुङले मन्त्री पदबाट २०८३ वैशाख ९ गते राजीनामा दिनुभएको थियो । व्यापारी दीपक भट्टसँग सेयर लगानी गरेको भन्दै प्रश्न उठेपछि उहाँले पदबाट राजीनामा दिनुभएको थियो । २०८३ वैशाख २८ गतेको मन्त्रीपरिषद् बैठकले गुरुङमाथि छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारी अध्यक्ष, महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि न्यौपाने सदस्य रहने गरी समिति गठन गरेको थियो । उक्त समितिले बुझाएको प्रतिवेदन मङ्गलबार मन्त्रीपरिषद्ले ग्रहण गरे लगत्तै उहाँ पुनः गृहमन्त्री बन्नुभएको हो ।
पुन भने २०८२ भदौ २३ र २४ को जेनजी आन्दोलनपछि सुशीला कार्की नेतृत्वमा बनेको सरकारका शिक्षामन्त्री हुनुहुन्थ्यो । उहाँले २०८२ फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा म्याग्दीबाट स्वतन्त्र उम्मेदवारको रूपमा उम्मेदवारी दर्ता गर्नु अघि मन्त्री पदबाट राजीनामा दिनुभएको हो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,