24th February 2026, Tuesday

प्रत्यक्षतर्फ ६० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

Post Image
2 हप्ता अगाडी

News by: helpline

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ ६० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकिएको जनाएको छ ।

आयोगका अनुसार हालसम्म ६० निर्वाचन क्षेत्रका ७२ लाख ६० हजार मतपत्र छपाइ सकिएको । छापिएकामध्ये २५ जिल्लाको मतपत्र ‘प्याकिङ’ पनि सकिएको छ । कर्णाली र सुदूरपश्चिम (एकाध जिल्ला बाहेक) प्रदेशको मतपत्र छपाइ सकिएको छ । प्रत्यक्षतर्फ कुल दुई करोड तीन लाख २३ हजार मतपत्र छाप्नुपर्ने छ ।

समानुपातिकतर्फको दुई करोड चार लाख मतपत्र छपाइ सकेर माघ १६ गतेदेखि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु भएको थियो । उच्च हिमाली र दुर्गम क्षेत्रका जिल्लालाई उच्च प्राथमिकता दिएर आयोगले मतपत्र छपाइलाई निरन्तरता दिइरहेको छ ।

मतपत्र माघ २५ गतेदेखि फागुन ३ गतेसम्म जिल्ला, जिल्ला पठाउने गरी आयोगले तयारी गरिरहेको छ । निर्वाचनका लागि आवश्यक पर्ने ३७ प्रकारका सामग्री निर्वाचन कार्यालयले सम्बन्धित जिल्लामै खरिद गर्ने व्यवस्था गरेको छ । विभिन्न किसिमका निर्वाचन सामग्री भने आयोगले नै खरिद गरेर जिल्ला, जिल्ला पठाउन लागेको हो ।

सडक पुगेको उच्च पहाडी र हिमाली जिल्लामा ट्रक र उच्च हिमाली जिल्लामा हेलिकप्टरका माध्यमबाट मतपत्रलगायत निर्वाचन सामग्री ढुवानी गरिने आयोगले जनाएको । विसं २०७९ को निर्वाचनमा खरिद गरी बाँकी रहेका निर्वाचन सामग्री भने आयोगले काठमाडौँ वरिपरि एवं नजिक, नजिकका जिल्लामा पठाइएको जनाएको छ ।



No ad available.


No ad available.