News by: helpline
काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार गरेको अभियोगमा ५ पूर्वमन्त्रीसहित ५६ जनाविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ।
चिनियाँ ऋण लगानीमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार गरेको अभियोगमा ५ पूर्वमन्त्री, ९ पूर्वसचिव र सर्वोच्च अदालतका पूर्वरजिस्ट्रारसहित ५६ विरुद्ध मुद्दा दायर भएको हो । विमानस्थल निर्माणमा ७ करोड ४३ लाख ४३ हजार ४ सय ५० अमेरिकी डलर (तत्कालीन विनिमय दरअनुसार ८ अर्ब ३६ करोड ७३ लाख ५५ हजार २ सय ९७ रुपैयाँ ५० पैसा) सरकारलाई हानिनोक्सानी पु¥याएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
यस प्रकरणमा संलग्न भएको आरोपमा आयोगले तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीहरू रामकुमार श्रेष्ठ, भीमप्रसाद आचार्य, दीपकचन्द्र अमात्य, पोस्टबहादुर बोगटीलाई प्रतिवादी बनाएको छ । पर्यटनमन्त्री नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालक समितिको अध्यक्ष रहन्छन् । त्यस्तै पूर्वअर्थमन्त्री डा. रामशरण महतलाई पनि प्रतिवादी बनाएको छ ।
पूर्वमन्त्री बोगटी दिवङ्गत भइसक्नुभएको छ । उहाँको निधन भइसकेको हुनाले आयोगले उहाँकी श्रीमती राममाया बोगटीलाई पनि प्रतिवादी बनाएको छ । त्यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिवहरू सुशील घिमिरे, सुरेशमान श्रेष्ठ, अर्थ मन्त्रालयका तत्कालीन सचिव सुमनप्रसाद शर्मा, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका तत्कालीन सचिव भेषराज शर्मालाई प्रतिवादी बनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सहसचिवहरू रञ्जनकृष्ण अर्याल, मोहनकृष्ण सापकोटा, लोकबहादुर खत्री, सुरेश आचार्य, अर्थ मन्त्रालयका तत्कालीन सहसचिव मधुकुमार मरासिनीलाई पनि यो मुद्दामा प्रतिवादी बनाइएको छ । मरासिनी सरकारको सचिवमा बढुवा भएर हाल अवकाशमा गइसक्नुभएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालक समितिका तत्कालीन सदस्यहरू मनरुप शाही, ज्योति अधिकारी, मनोज कार्की, फुर्वा छिरिङ शेर्पा, सदस्यसचिव मदन खरेल, मुक्तिनारायण पौडेल, सूर्यप्रसाद आचार्यलाई पनि विपक्षी बनाइएको छ ।
प्राधिकरण सञ्चालक समितिका सदस्यसमेत रहनुभएका भन्सार विभागका तत्कालीन महानिर्देशक मुक्तिनारायण पौडेल, सूर्यप्रसाद आचार्य, नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक त्रिरत्न मानन्धर र रतिसचन्द्रलाल सुमनलाई पनि प्रतिवादी बनाइएको छ । तत्कालीन उपमहानिर्देशक सुमनकुमार श्रेष्ठ, उपसचिव हरिबहादुर खड्कालाई पनि प्रतिवादी बनाइएको छ ।
नागरिक उड्डयन प्राधिकरणका तत्कालीन उपमहानिर्देशक रोशन चित्रकार, ऋषिकेश शर्मा, तत्कालीन उपनिर्देशकहरू नारायण गिरी, महेशकुमार बस्नेत, तत्कालीन निर्देशक बाबुराम पौडेल, प्रतापबाबु तिवारी, तत्कालीन उपनिर्देशक अशोककुमार सुवेदी, सुवर्णराज उपाध्यायलगायतलाई पनि प्रतिवादी बनाइएको छ । प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारी र पूर्वनिर्देशक मुरारी भण्डारीलाई पनि प्रतिवादी बनाइएको छ । दुवै जनाविरुद्ध नलिन्चोक हेलिपोर्ट निर्माण अनियमिततामा संलग्न भएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरिएको छ । दुवै जना हाल आयोगको हिरासतमा हुनुहुन्छ ।
पोखरा विमानस्थल २०६५ देखि अध्ययन सुरु गरेर २०७९ मा निर्माण सम्पन्न भएको थियो । विमानस्थल निर्माण ठेक्का पाएको चिनियाँ कम्पनी सीएएमसी इन्जिनियरिङ, यसको प्रमुख भई काम गर्ने चिनियाँ नागरिक वाङ बो र कम्पनीका क्षेत्रीय जनरल म्यानेजर लिउ सेङचेङलाई पनि अख्तियारले प्रतिवादी बनाएको छ । अख्तियारले चिनियाँ ठेकेदार कम्पनी तथा यसका सञ्चालकलाई एकमुष्ट बिगो मागदाबी गरेको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
बेलायतस्थित नेपाली दूतावासले नेपाली सामुदायिक संस्थालाई अभिभावकत्व दिने