News by: helpline
काठमाडौं । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औं जन्मजयन्ती एवं राष्ट्रिय एकता दिवस आज आइतबार विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
१७७९ साल पुस २७ गते जन्मिनु भएका शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आइतबार देशैभरी विविध कार्यक्रमको आयोजना गरी मनाउन लागिएको हो । आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्याएको योगदानको स्मरण गर्दै सधैँ जस्तै आइतबार पनि प्रमुख प्रशासनिक भवन सिंहदरबार पश्चिम ढोका अगाडिको पृथ्वीनारायणको सालिकमा पुष्पहार अर्पण गरी सम्मान व्यक्त गरिने भएको छ।
पृथ्वी जयन्तीका अवसरमा आइतबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चियापान समारोहको आयोजना गरेको छ नेपाली सेनाले पनि पृथ्वी जयन्तीका अवसरमा हरेक वर्ष सैनिक मुख्यालय भवन जङ्गीअड्डा परिसरमा रहेको राष्ट्र निर्माताको पूर्णकदको शालिकमा माल्यार्पण गरी सम्मान प्रकट गर्दै आएको छ । तत्कालीन गोरखाका राजा शाहले विभिन्न सामाजिक, आर्थिक र भौगोलिक चुनौतीबीच जनताको उत्साहजनक सहयोग तथा सहभागितामा छरिएर रहेका बाइसे, चौबीसे राज्यलाई एकीकृत गर्नु भएको थियो ।
शाहको १८३१ सालमा ५२ वर्षको उमेरमा निधन भएको थियो । उहाँले २० वर्षको उमेरमा गद्दीआरोहण गर्दै तत्कालीन आन्तरिक तथा बाह्य शक्तिलाई पराजित गरेर एकीकरण अभियान सञ्चालन गर्नुभएको थियो । शाहको एकीकरण अभियानले राष्ट्रिय स्वाधीनता र सार्वभौमिकतालाई अक्षुण्ण राख्ने आधार तयार गरेका कारण विश्वका पुराना राष्ट्रमध्ये नेपाल एक रहन पुगेको छ ।
शाहले आफ्नो शासनकालमा दिएका ‘घुस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन्’ भन्ने लगायत दिव्योपदेश अहिले पनि भ्रष्टाचार न्यूनीकरण र सुशासन प्रवद्र्धन गर्ने सन्दर्भमा त्यत्तिकै समय सान्दर्भिक छन् । भौगोलिक अवस्थाको पाटोलाई ध्यान दिँदै उहाँले नेपाललाई दुई ढुङ्गाबीचको तरुलको सङ्ज्ञा दिनुभएको थियो । सरकारले पृथ्वी जयन्तीका अवसरमा आज सार्वजनिक बिदा समेत दिएको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
बेलायतस्थित नेपाली दूतावासले नेपाली सामुदायिक संस्थालाई अभिभावकत्व दिने