22nd October 2026, Thursday

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको सम्पूर्ण तयारी पूरा

Post Image
2 हप्ता अगाडी

News by: helpline

काठमाडौं । आइतबारबाट शुरु हुने नेपाली कांग्रेसको १५औँ महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ ।

 महाधिवेशनको उद्घाटन आइतबार असोज १८ गते दिउँसो २ः०० बजे टुँडिखेल खुलामञ्चमा हुँदैछ । नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले निर्वासनबाट स्वदेश आगमनपछि पहिलो सार्वजनिक सम्बोधन गर्नुभएको स्थलमा पार्टीको १५औँ महाधिवेशन हुन लागेको हो । त्यही टुँडिखेलमा कांग्रेसका अर्का संस्थापक नेता गणेशमान सिंहले निरंकुश सत्ताको अन्त्यका लागि भएको २०४६ सालको जनआन्दोलनको सफलताको उद्घोष गर्नुभएको थियो ।

 महाधिवेशनको उद्घाटन सभापति गगनकुमार थापाले गर्नुहुनेछ भने उद्घाटन सत्रमा कांग्रेसका शीर्ष नेताहरूका साथै मुलुकका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको समेत सम्बोधन हुने बताइएको छ । महाविधेशनको तयारी सम्बन्धी जानकारी दिन शनिबार आयोजित पत्रकार सम्मेलनमा प्वक्ता देवराज चालिसेले भन्नुभयो, “यो यसकारण पनि ऐतिहासिक महाधिवेशन हो, जुन महाधिवेशनको प्रक्रियाबाट नवपुस्ताका ४४ हजार युवा जिम्मेवारीमा आएका छन् र उनीहरूसहितले छानेका सात हजारभन्दा बढी प्रतिनिधिहरू सहभागी हुँदैछन् ।” गत पुस २८ देखि माघ ३ गते सम्पन्न कांग्रेसको दोस्रो विशेष महाधिवेशनपछि यो महाधिवेशन हुन लागेको उहाँले जानकारी दिनुभयो ।

कांग्रेसको यस महाधिवेशनबाट पैतिस वर्ष मुनिका युवाका साथ लोकतन्त्र सेनानी, श्रमिक तथा पेसागत समूह र विदेशमा रहेका नेपालीसमेत पहिलोपटक केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने अवसर पाउँदै छन् । नेपाली राजनीतिमा कांग्रेसले धेरै इतिहास रचेको र अब नयाँ इतिहास निर्माण गर्न चाहेको उल्लेख गर्दै चालिसेले कांग्रेसले अब बिपी कोइरालालाई इतिहासबाट भविष्यसँग जोड्ने र यसका लागि देशको समृद्धिको वैचारिक आधार बिपी विचारलाई बनाइने जानकारी दिनुभयो ।

महाधिवेशनमा देश तथा विदेशबाट महाधिवेशन प्रतिनिधिहरू सहभागी हुन काठमाडौँ आउनेक्रम जारी रहेको र झण्डै सात हजार ५०० महाधिवेशन प्रतिनिधि रहने पार्टी कार्यालयले जनाएको छ ।



No ad available.


No ad available.