24th February 2026, Tuesday

निपाह भाइरसबारे सतर्क रहन र आतङ्कित नहुन स्वास्थ्य मन्त्रालयको आग्रह

Post Image
3 हप्ता अगाडी

News by: helpline

काठमाडौं । सरकारले छिमेकी देशमा देखिएको निपाह भाइरसका संक्रमणको जोखिम नेपालमा न्यून भए पनि सतर्क रहन आग्रह गरेको छ ।

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले छिमेकी देशका घटनालाई मध्यनजर गर्दै पूर्वतयारीका कदमस्वरूप देशभरका स्वास्थ्य संस्था तथा निकायहरूलाई सतर्क गराइएको र निपाह भाइरसको परीक्षण एल्गोरिदम (अन्तरिम) तयार गरिएको जनाएको छ ।

विश्व स्वास्थ्य संगठनद्वारा विश्वव्यापी तथा दक्षिण–पूर्वी एसिया क्षेत्रीयस्तरमा निपाह भाइरसको जनस्वास्थ्य जोखिम न्यून रहेको मूल्यांकन गरे पनि मन्त्रालयले सतर्क रहन आग्रह गरेको जनाएको छ । मन्त्रालयका प्रवक्ता एवं स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन एकाइ प्रमुख डा प्रकाश बुढाथोकीले स्वास्थ्य मन्त्रालय नागरिकहरूको स्वास्थ्य सुरक्षाका लागि पूर्ण रूपमा प्रतिबद्ध रहेको र आवश्यक सबै कदमहरू चालिरहेको जानकारी गराउनु भयो । उहाँले सबैलाई नआत्तिन तर सचेत, सजग र जिम्मेवार बन्न अनुरोध गर्नुभएको छ ।

प्रवक्ता बुढाथोकीले भन्नुभयो, ’आत्तिनुपर्ने अवस्था छैन, तर सतर्क रहनुपर्छ । त्यसैले सबैले फलफूल राम्ररी पखालेर मात्र खाने, तरकारी राम्रोसँग पकाएर खाने, सफा र सुरक्षित पानी उमालेर मात्र पिउन आवश्यक छ । जनावरका गोठ तथा फार्म सफा राख्ने, मासु काट्दा पन्जा र मास्क प्रयोग गर्ने, बेला–बेलामा साबुनपानीले हात धुने तथा भीडभाडमा जाँदा मास्क लगाउनेजस्ता जनस्वास्थ्य मापदण्डहरू पालना गर्नुपर्छ ।’

प्रवक्ता डा बुढाथोकीले कुनै शंकास्पद लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्था वा १११५ मा तुरुन्त सम्पर्क गर्न आग्रह गर्नुभएको छ । चिकित्सकका अनुसार निपाह भाइरस संक्रमित चमेराको र्‍याल, पिसाब वा मलमूत्रले दूषित भएको फलफूल सेवन गर्दा संक्रमण हुन सक्छ । साथै सङ्क्रमित व्यक्तिको रगत, थुक, पिसाब वा नजिकको सम्पर्कबाट तथा चमेराबाट सुँगुर हुँदै पनि मानिसमा संक्रमण सर्न सक्ने चिकित्सकहरुको भनाई छ ।



No ad available.


No ad available.