24th December 2025, Wednesday

मधेश प्रदेश सभा बैठक अवरुद्ध

Post Image
5 महिना अगाडी

News by: helpline

काठमाडौं । मधेश सरकारले ल्याएको आर्थिक वर्ष २०८२र८३ को बजेटप्रति असन्तुष्टि जनाउँदै  प्रतिपक्षी दलहरुले आज पनि पनि प्रदेशसभा बैठक अवरुद्ध पारेका छन् ।

सभामुख रामचन्द्र मण्डलले बैठक सुरु गरेलगत्तै प्रतिपक्षी दलका सांसदहरुले विरोध जनाउँदै संसद अवरुद्ध पारेका हुन् ।शनिबार बसेको प्रदेशसभा बैठकमा प्रतिपक्ष दलले विरोध गरेपछि छैटौं दिन पनि स्थगित भएको हो । बैठक सुरु भएपछि माओवादी नेता युवराज भट्टराईले आगामी आर्थिक वर्षको बजेटमा देखिएको त्रुटि सच्याउन बनाएको कार्यदल गठनमा असहमति जनाएर विरोध गरेका थिए ।

मुख्यमन्त्री सतीशकुमार सिंहले प्रतिबद्धता जनाएअनुसार कार्यदल गठन नभएको उनको भनाइ छ ।  भट्टराईले बजेटमा बिचौलियाको प्रवेश भएको विषयमा छानबिन गर्न वा भएको त्रुटि सच्याउन बनाइएको कार्यदलमा मन्त्रीलाई राखेकोमा आपत्ति जनाए । उनले कार्यदलबाट मन्त्रीको नाम नहटाएसम्म संसद चल्न नदिने जानकारी गराए ।

मुख्यमन्त्री सतिशकुमार सिंहको आग्रहमा सभामुख मण्डलले आफ्नो संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका थिए, तर उक्त कार्यदलमा भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवलाई पनि राखिएपछि विवाद भएको हो । सभामुख मण्डलले बजेटको विषयको विवाद छलफलकै माध्यमबाट टुंग्याउन प्रतिपक्षी दलहरुलाई आग्रह गरे ।

 



No ad available.


No ad available.