14th April 2026, Tuesday

मित्र राष्ट्रहरूसँगको सम्बन्धलाई अझ सुदृढ बनाउन नेपाल सरकार उत्सुक : प्रधानमन्त्री शाह

Post Image
5 दिन अगाडी

News by: helpline

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले बुधबार नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेट गर्नुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री शाहले उहाँहरसँग सामूहिक भेट गर्नुभएको हो । सो क्रममा प्रधानमन्त्री शाहले नेपालस्थित विभिन्न कूटनीतिक नियोगका प्रमुख एवं राजदूतहरूलाई उहाँहरूले प्रतिनिधित्व गर्ने मित्र राष्ट्रहरूसँगको सम्बन्धलाई अझ सुदृढ बनाउन नेपाल सरकार उत्सुक रहेको बताउनुभएको थियो ।

भेटमा भारत, पाकिस्तान, कोरिया गणराज्य, बेलायत, कतार, स्विट्जरल्यान्ड, फ्रान्स, इजरायल, जापान, बङ्गलादेश, जर्मनी, इजिप्ट, श्रीलङ्का, साउदी अरेबिया, चीन, संयुक्त राज्य अमेरिका र संयुक्त राष्ट्र सङ्घका राजदूत÷नियोग प्रमुखहरूको उपस्थिति रहेको प्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ।

प्रधानमन्त्री शाहले नेपाल सरकार लगानीका लागि अनुकूल वातावरण निर्माण गर्न,उद्यमशीलतालाई प्रोत्साहन गर्न तथा दिगो विकासलाई समर्थन गर्न प्रतिबद्ध रहेको पनि बताउनुभयो । यसैगरी राजदूत एवं नियोग प्रमुखहरूले प्रधानमन्त्री शाहलाई बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्नुभएको थियो ।

उहाँहरुले नेपाली जनताको हितमा परिणाम दिने गरी नेपाल सरकारका कार्यहरूमा समर्थन र सहयोगको प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।



No ad available.


No ad available.