23rd August 2026, Sunday

काठमाडौंस्थित पाकिस्तानी दूतावासद्वारा ‘काश्मिरको राजनीतिक भविष्य’ विषयक अन्तरक्रिया आयोजना

Post Image
2 हप्ता अगाडी

News by: helpline

काठमाडौं । काठमाडौँस्थित पाकिस्तानी दूतावासले ‘काश्मिरको राजनीतिक भविष्यः कानुनी, कूटनीतिक र रणनीतिक दृष्टिकोण’ शीर्षकमा एक विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।

 कार्यक्रममा पत्रकार, लेखक, विश्लेषक तथा मानव अधिकारकर्मीहरूको उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा पाकिस्तानका राष्ट्रपति, प्रधानमन्त्री तथा उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्रीका विशेष सन्देशहरू पढेर सुनाइएको थियो। कार्यक्रममा वाचन गरिएको सन्देशमा पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले भारतीय नियन्त्रणमा रहेको जम्मु–काश्मिरका जनताप्रति पाकिस्तानको सैद्धान्तिक, दृढ, नैतिक, राजनीतिक र कूटनीतिक दृढ समर्थन रहेको दोहोर्याउनुभएको छ।

उहाँको शन्देशमा संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को सान्दर्भिक प्रस्ताव र काश्मिरी जनताको चाहना अनुसार जम्मु–काश्मिर विवादको समाधानका लागि पाकिस्तानले हरेक अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाइरहने उहाँले स्पष्ट पार्नुभयो। दक्षिण एसियामा स्थायी शान्ति कायम हुनु जम्मु–काश्मिर विवादको शान्तिपूर्ण समाधानसँग प्रत्यक्ष रूपमा जोडिएको सन्देशमा उल्लेख छ।

यसैगरी पाकिस्तानका प्रधानमन्त्री मुहम्मद शाहबाज शरीफले जम्मु–काश्मिर आधुनिक इतिहासकै सबैभन्दा लामो समयदेखि सुल्झन बाँकी अन्तर्राष्ट्रिय विवादहरूमध्ये एक भएको र सन् १९४८ देखि संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को कार्यसूचीमा रहेको उल्लेख गर्नुभएको छ। दुई आणविक हतियारधारी छिमेकी मुलुकहरूबीचको यो विवाद क्षेत्रीय शान्ति र स्थिरताका लागि निरन्तर चुनौती बनेको बताउँदै उहाँले अन्तर्राष्ट्रिय समुदायलाई भारतद्वारा भइरहेको मानव अधिकार उल्लङ्घन रोक्न, अगस्ट २०१९ यता लागू गरिएका गैरकानुनी एवम् एकपक्षीय कदमहरू फिर्ता लिन र शान्तिपूर्ण समाधानका लागि अनुकूल वातावरण निर्माण गर्न आग्रह गर्नुभयो।

पाकिस्तानका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री मोहम्मद इसहाक दारले आफ्नो सन्देशमा जम्मु–काश्मिरको अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त विवादित स्थिति क्षेत्रलाई कमजोर पार्ने सम्पूर्ण कदमहरू रोक्न भारतसँग आह्वान गर्नुभएको छ। भारतले सो क्षेत्रमा ३४ लाखभन्दा बढी बसोबास प्रमाणपत्र जारी गरेर जनसाङ्ख्यिक संरचना परिवर्तन गर्ने रणनीति लिएको र त्यो असफल हुने दाबी गर्दै उहाँले प्रमुख काश्मिरी नेताहरूलाई लामो समयदेखि थुनामा राखिएकोप्रति पनि आलोचना गर्नुभयो।

कार्यक्रममा बोल्दै नेपालका लागि पाकिस्तानी राजदूत मोहम्मद आमिर खानले जारी मानवीय स्थिति, जनसाङ्ख्यिक हेरफेर र संचार स्वतन्त्रतामाथिको दमनप्रति चिन्ता व्यक्त गर्नुभयो। संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को प्रस्ताव र काश्मिरी जनताको इच्छा बमोजिम विवाद समाधान नभएसम्म दक्षिण एसियामा स्थायी शान्ति सम्भव नभएको उहाँले जोड दिनुभयो। छलफलका क्रममा सहभागीहरूले काश्मिरी जनताप्रति ऐक्यबद्धता प्रकट गर्दै क्षेत्रीय शान्ति कायम राख्न पाकिस्तानले देखाएको जिम्मेवार व्यवहारको प्रशंसा गरेका थिए।



No ad available.


No ad available.