23rd August 2026, Sunday

काठमाडौं उपत्यकामा ६ हजार ८ सय २ सिलिन्डर ग्याँस वितरण, सहज रुपमा पाउनै मुस्किल

Post Image
1 हप्ता अगाडी

News by: helpline

काठमाडौं । नेपाल आयल निगमले काठमाडौं उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि शनिबार विभिन्न ब्रान्डका ६ हजार ८ सय दुई सिलिन्डर एलपी ग्यास बिक्री–वितरण गरेको छ।

 निगमका अनुसार टेकु परिसर, यातायात कार्यालय चावहिल, राधास्वामी परिसर कीर्तिपुर, राधास्वामी परिसर बसुन्धरा र पुरानो जिल्ला प्रशासन कार्यालय परिसर बबरमहलस्थित बिक्री केन्द्रबाट ग्यास वितरण गरिएको हो। निगमले ग्याँस बितरण गरेको बताएता पनि कतिपय लाइनमा बसेका उपभोक्ताले ग्यास नपाएको बताएका थिए ।

 निगमले भने वितरणका क्रममा केही ब्रान्डका ग्यास सिलिन्डर अपुग भएपछि बिक्री केन्द्रमा समयमै उपस्थित भएका उपभोक्तालाई कुपनमार्फत आइतबार पहिलो प्राथमिकतामा राखी ग्यास उपलब्ध गराउने व्यवस्था मिलाइएको जनाएको छ।

निगमले आइतबार काठमाडौँ उपत्यकाका थप सात बिक्री केन्द्रबाट अत्यावश्यक उपभोक्ताका लागि एलपी ग्यास बिक्री–वितरण गर्ने जनाएको छ। निगमको टेकु परिसरबाट नेपाल, एचपी, एभरेस्ट, सुगम, श्रीराम र सागर ब्रान्डका ग्यास बिक्री हुनेछन्।

 त्यस्तै, पशु सेवा शाखा चापली (बूढानीलकण्ठ) बाट नेपाल, एचपी र भानु; राधास्वामी परिसर (कीर्तिपुर) बाट नेपाल, एचपी, एभरेस्ट, सुगम, श्रीकृष्ण, साईबाबा र श्रीमाया; नयाँ बजार जुडो हल परिसरबाट नेपाल, एचपी र ओम; तारकेश्वर नगरपालिका परिसरबाट नेपाल र एचपी ब्रान्डका ग्यास बिक्री गरिनेछ। यसैगरी, चन्द्रागिरि नगरपालिका कार्यालय परिसरबाट लोकप्रिय, नेपाल, एचपी र श्रीमाया तथा राष्ट्रिय क्षयरोग केन्द्र (ठिमी) बाट नेपाल, एचपी, सूर्य, सगर, एभरेस्ट, सुगम र एसटीसी ब्रान्डका ग्यास बिक्री–वितरण गरिने निगमले जनाएको छ।

कुनै कारणले ग्यास प्राप्त गर्न नसकेका उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचयपत्रका आधारमा बिहान ११ देखि साँझ ५ बजेसम्म नजिकको बिक्री केन्द्रबाट ग्यास खरिद गर्न सक्ने व्यवस्था गरिएको निगमले जनाएको छ।



No ad available.


No ad available.