22nd October 2026, Thursday

कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन पुनः सञ्चालनमा आयो

Post Image
3 दिन अगाडी

News by: helpline

काठमाडौं । गत असोज ११ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन अन्तर्गतको म्याग्दीको दाना–राहुघाट खण्ड २१ दिनपछि पुनः सञ्चालनमा आएको छ ।

बाढीले म्याग्दीको अन्नपूर्ण गाउँपालिका –६, पोखरेबगरस्थित प्रसारण लाइनका चारवटा टावरमा क्षति गरेको थियो। तीमध्ये टावर नम्बर २१, २३ र २४ पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो । टावर नम्बर २२ मा आंशिक क्षति पुगेको थियो । प्रसारण लाइन अवरुद्ध भएपछि दाना सबस्टेसन मार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएका निजी क्षेत्रका पाँच जलविद्युत् आयोजनाबाट उत्पादित कुल १७० मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह हुन सकेको थिएन । लाइन सञ्चालनमा आएसँगै उक्त आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा पुनः जोडिएको छ ।

 नेपाल विद्युत् प्राधिकरणले आपत्कालीन पुनःस्थापना प्रणाली (इआरएस) टावर प्रयोग गरी उक्त खण्डलाई अस्थायी रूपमा सञ्चालनमा ल्याएको हो। शनिबार राति सवा १० बजे प्रसारण लाइनको २२० केभीको एउटा सर्किटलाई चार्ज गरी अस्थायी रुपमा सञ्चालनमा ल्याइएको हो । स्थायी टावर निर्माण सम्पन्न भएपछि प्रसारण लाइनको दाना–राहुघाट खण्ड नियमित अवस्थामा सञ्चालनमा आउने छ ।

 कालीगण्डकी र यसका सहायक नदीमा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् एकीकृत गरी राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्ने उद्देश्यले कालीगण्डकी करिडोर २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण गरिएको हो ।



No ad available.


No ad available.