News by: helpline
जनकपुरधाम । बुधबार जनकपुरमा हुने कांग्रेसको “प्रतिज्ञा सभा”सभामा एक लाखको संख्यामा सर्बसाधारण सहभागी हुने दाबी गरिएको छ ।
कांग्रेस मधेस प्रदेश समितिको आयोजनामा जनकपुरधाममा फागुन ६ गते आयोजना गरिएको आसन्न प्रतिनिधि सभा निर्वाचन फागुन २१ गते लक्षित पहिलो ऐतिहासिक “प्रतिज्ञा सभा” को सम्पूर्ण तयारी पूरा भएको पनि जनाइएको छ । कांग्रेस मधेस प्रदेश समिति सभापति कृष्णप्रसाद यादवले पत्रकार सम्मेलनमा बोल्दै सम्पूर्ण तयारी पूरा भएको बताउनु भएको हो ।
यादवले बुधबार हुने महत्वपूर्ण प्रतिज्ञा सभामा कांग्रेस केन्द्रीय सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मालगायत केन्द्रीय तहका प्रमुख नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो । मधेसको पवित्र भूमिमा, ऐतिहासिक तथा सांस्कृतिक नगरी जनकपुरधाममा आयोजना हुने यो प्रतिज्ञा सभा केवल एक राजनीतिक कार्यक्रम मात्र नभई, मधेसको स्वाभिमान, समावेशी लोकतन्त्र र राष्ट्रिय एकताको सन्देश दिने ऐतिहासिक अवसरको रुपमा लिएको यादवले बताउनुभयो ।
पत्रकार सम्मेलन पछि जारी बिज्ञप्तिमा यादवले नेपाली कांग्रेस र मधेसको सम्बन्ध इतिहासकै गहिरो धरातलमा उभिएको भन्दै २००७ सालको प्रजातान्त्रिक आन्दोलनदेखि २०४६ सालको जनआन्दोलन हुँदै २०६२/०६३ को ऐतिहासिक जनआन्दोलनसम्म मधेसका वीर सपूतहरूले नेपाली कांग्रेसको नेतृत्वमा भएका प्रत्येक लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्नसभएको छ । बिज्ञप्तिमा मधेसको माटोले सधैँ प्रजातन्त्र, समावेशिता र संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा दृढ आवाज उठाउँदै आएको भन्दै उहाँले यो अवसरमा मधेसपुत्र दुर्गानन्द झा, नारायण मिश्र, महेन्द्रनारायण निधी लगायतका नेताहरुलाई स्मरण गरेको जनाउनु भएको छ ।
मधेस आन्दोलनपछिको राजनीतिक यात्रामा नेपाली कांग्रेसले मधेसका जनताको पहिचान, अधिकार, समानुपातिक समावेशिता र सशक्तीकरणका मुद्दालाई आफ्नो मूल एजेण्डाका रूपमा आत्मसात गरेको भन्दै उहाँले मधेसको विकास, शिक्षा, स्वास्थ्य, कृषि आधुनिकीकरण, रोजगारी सिर्जना तथा पूर्वाधार विस्तारका लागि कांग्रेस सधैं प्रतिबद्ध रहँदै आएको बताउनु भएको छ ।
उहाँले विज्ञप्तिमा भन्नुभएको छ ’नेपाली कांग्रेसका सभापति गगनकुमार थापा स्वयं मधेससँग भावनात्मक र राजनीतिक रूपमा गहिरो सम्बन्ध राख्नुहुन्छ । उहाँ मधेसको जिल्ला सर्लाही क्षेत्र नं ४ बाट उम्मेदवार बनेर मधेसको जनतासँग प्रत्यक्ष जोडिनुभएको छ । यो केवल चुनावी रणनीति मात्र नभई मधेस र राष्ट्रिय राजनीतिबीचको सम्बन्धलाई सुदृढ बनाउने सन्देश हो । मधेसको विकास र सम्मान बिना राष्ट्रिय समृद्धि सम्भव छैन भन्ने विश्वासका साथ उहाँले मधेसको भूमिबाट प्रतिनिधित्व गर्न रोज्नुभएको हो’ ।
आज मधेस केवल भौगोलिक क्षेत्र मात्र होइन, राष्ट्रिय अर्थतन्त्र, कृषि उत्पादन, सांस्कृतिक विविधता र सामाजिक समावेशिताको आधारस्तम्भ भएको चर्चा गर्दै सभापति यादवले विगतका वर्षहरूमा मधेसले अपेक्षित विकास र राज्यको पर्याप्त ध्यान पाउन सकेको भन्दै यही यथार्थलाई आत्मसात गर्दै नेपाली कांग्रेसले आफ्नो आगामी चुनावी घोषणा पत्रको रूपमा सार्वजनिक गर्न गइरहेको “प्रतिज्ञा पत्र” मधेसबाटै प्रारम्भ गर्ने निर्णय गरेको जानकारी दिनुभयो । प्रतिज्ञा सभामार्फत नेपाली कांग्रेसले जनतासँग प्रत्यक्ष संवाद गर्दै आफ्ना प्राथमिकता सार्वजनिक गर्ने यादवको भनाई छ । सुशासन, पारदर्शिता, भ्रष्टाचार नियन्त्रण, शिक्षा र स्वास्थ्यमा गुणस्तरीय सेवा, संघीयताको प्रभावकारी कार्यान्वयन तथा प्रदेश र स्थानीय तहको सुदृढीकरणका विषयमा स्पष्ट धारणा प्रस्तुत गरिनेसमेत यादवले बताउनुभयो । विज्ञप्तिमा भनिएको छ, ’आसन्न फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा मधेसी जनताको पूर्ण साथ, सहयोग गरी रुख चिन्हमा मतदान गर्न पनि अपील गर्दछौँ ।
मधेसको इतिहासले नेपाली कांग्रेसलाई सधैं साथ दिएको छ । मधेसका किसान, मजदुर, व्यापारी, विद्यार्थी, बुद्धिजीवी तथा युवाहरूले प्रजातन्त्र र संविधानको रक्षाका लागि निरन्तर संघर्ष गरेका छन्। यही ऐतिहासिक योगदानप्रति सम्मान व्यक्त गर्दै हामी यो प्रतिज्ञा सभा मधेसबाट शुरू गर्दैछौँ ।’ प्रतिज्ञा सभा केवल नेताहरूको सम्बोधन सुन्ने कार्यक्रम नभएको बरु जनताको आवाज सुन्ने, जनतासँग प्रतिवद्धता व्यक्त गर्ने र भावी यात्राको खाका प्रस्तुत गर्ने साझा मञ्च भएको उल्लेख गरिएको छ ।
मधेसको गौरव, राष्ट्रिय एकता र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्दै समृद्ध नेपाल निर्माण गर्ने दिशामा यो कार्यक्रम कोसेढुंगा सावित हुने दाबीसमेत गरिएको छ । कांग्रेस मधेस प्रदेश समितिले सम्पूर्ण शुभेच्छुक, लोकतन्त्रप्रेमी नागरिक, कांग्रेसका अग्रज, युवा, महिला दिदीबहिनीहरू तथा पार्टीका समर्पित कार्यकर्ताहरूलाई ऐतिहासिक प्रतिज्ञा सभामा अनिवार्य उपस्थित भई कार्यक्रमलाई सफल पार्न अनुरोधसमेत गरेको छ । कांग्रेसले प्रतिज्ञा सभामा निर्वाचन लक्षित आफ्नो घोषणा पत्र सार्वजनिक गर्न लागेको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
बेलायतस्थित नेपाली दूतावासले नेपाली सामुदायिक संस्थालाई अभिभावकत्व दिने