24th December 2025, Wednesday

कांग्रेसका नेता आलमको ६३ वर्षको उमेरमा निधन

Post Image
1 महिना अगाडी

News by: helpline

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमको ६३ वर्षको उमेरमा निधन भएको छ ।

आलमको उपचारका क्रममा आज शनिबार बिहान २ बजेर ५८ मिनेटमा काठमाडौंको सिनामंगलं स्थित केएमसी अस्पतालमा निधन भएको हो । उच्चरक्तचाप, मधुमेह लगायत स्वास्थ्यमा समस्या देखिएपछि आलमलाई दशैंअघि देखि अस्पताल भर्ना गरिएको थियो । पछिल्लो एक सातादेखि आलमको स्वास्थ्य थप खराब बन्दै गएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

आलमको डेढ महिना अघि भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचार गराइएको थियो । ‘त्यहाँ स्वास्थ्यमा सुधार आएपछि घर ल्यायएको थियो । गएको जेठ १४ गते नख्खु कारागारबाट छुटेको केही दिनमै उहाँलाई मस्तिष्कघात भएपछि माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो । एक साता बढी आईसीयूमा राखेर उपचारपछि डिस्चार्ज हुनु भएका आलमलाई दसैंअघि थप उपचारको लागि भारत लगिएको थियो ।

पुरानै समस्या बल्झिए पछि आलमलाई केएमसी अस्पतालमा भर्ना गरिएको थियो । २०६४ चैत २७ गते पहिलो संविधानसभा निर्वाचनको पूर्व सन्ध्यामा रौतहटको राजपुरमा बम विस्फोटमा परेका यमुनामाई गाउँपालिका घर भएका घाइतेद्वय पिन्टु भनिने त्रिलोकप्रताप सिंह राजपुत र ओसी अख्तरलाई इँटाभट्टामा जलाएर हत्या गरेको कसुरमा रौतहट जिल्ला अदालतबाट जन्मकैदको सजाय सुनाइएका पूर्वमन्त्री आलमसहित चार जनालाई उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जका न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले रौतहटको फैसला उल्ट्याउदै गएको जेठ १४ गते सफाइ दिएको थियो ।

तत्कालीन कांग्रेस नेता शेख ईद्रिसको राजनिति उर्वर भूमिको रुपमा चित्रण गरिएको रौतहट क्षेत्र नम्बर २ मा आलमले लगातार चुनाव जित्दै आउनु भएको थियो । दोस्रो संविधानसभा निर्वाचनमा भने आफ्नै भान्जा मुस्ताक राजाबाट आलम परास्त हुनुपरेको थियो । आलमले २०७४ को संसदीय निर्वाचनमा भान्जा मुस्ताकबाट राजनीतिक विरासत फिर्ता लिनु भएको थियो । उक्त क्षेत्रबाट आलम ४ पटक प्रतिनिधि सभामा निर्वाचित हुनुभएको थियो ।

काका शेख ईद्रिसको निधन पछि २०५१ सालको उपनिर्वाचनमा आलम पहिलो पटक संसदीय निर्वाचनमा विजयी हुनुभएको थियो । तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापा नेतृत्वको सरकारमा आलम २०५४ सालमा श्रम राज्यमन्त्री, २०५५ सालमा कांग्रेसका तत्कालीन नेता गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा आलम वन राज्यमन्त्री बन्नु भएको थियो । २०५६ सालको संसदीय निर्वाचनमा पुनः निर्वाचित भएपछि उहाँ कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारमा स्थानीय विकास राज्यमन्त्री हुनुभयो ।

त्यसपछि बनेको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा भूमिसुधार मन्त्री र २०६४ सालको पहिलो संविधानसभा निर्वाचन पछि तत्कालीन एमालेका नेता माधवकुमार नेतृत्वको सरकारमा आलम श्रम तथा यातायात मन्त्री बन्नु भएको थियो ।



No ad available.


No ad available.