14th April 2026, Tuesday

कांग्रेस सभापति गगन थापाले अघि सारे पार्टीभित्र ‘ग्रान्ड रिफर्म’ योजना

Post Image
2 हप्ता अगाडी

News by: helpline

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र व्यापक शुद्धीकरण र संरचनात्मक परिवर्तनका लागि ‘ग्रान्ड रिफर्म’ (वृहत सुधार) को योजना अघि सार्नुभएको छ ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको परिणामको नैतिक जिम्मेवारी लिँदै दिएको राजीनामा केन्द्रीय समितिले अस्वीकृत गरेपछि पहिलो पटक मंगलबार पार्टी केन्द्रीय कार्यसमिति बैठकका क्रममा विशेष सम्बोधन गर्दै सभापति थापाले अबको यात्रा महाधिवेशन र पार्टी पुनर्जागरणतर्फ केन्द्रित हुने उद्घोष गर्नुभएको हो ।

 पार्टीको ‘ग्राण्ड रिफर्म:शुद्धीकरण र पुनर्जागरण

पार्टीको आन्तरिक जीवनका बारेमा बोल्दै थापाले कांग्रेसमा अब ‘सानो सुधार होइन, ग्राण्ड रिफर्म’ चाहिएको बताउनुभयो । सभापति थापाले सत्ताका लागि गरिने सिद्धान्तहीन सम्झौता र राज्यशक्तिको दुरुपयोग जस्ता ‘मैला पातहरू’ अब हटाउनुपर्ने बेला आएको उल्लेख गर्नुभयो । पार्टीको भद्दा संरचनाले यसको मौलिकता थिचिएको भन्दै उहाँले चार पुस्ताको विविधतालाई कांग्रेसको शक्तिमा बदल्नुपर्ने धारणा राख्नुभयो ।

कांग्रेसलाई केवल ‘इलेक्सन मेसिन’ मात्र नबनाई एक जीवन्त सामाजिक आन्दोलनका रूपमा पुनर्जागृत गर्ने उहाँको सङ्कल्प छ । उहाँले निर्वाचनको हारको जिम्मेवारी लिँदै आफू ‘टिमको क्याप्टेन’ भएको नाताले जवाफदेहिताबाट नभाग्ने स्पष्ट पार्नुभयो ।

राजीनामा, जवाफदेहिता र केन्द्रीय समितिको निर्णय

सभापति थापाले निर्वाचन परिणाम लगत्तै उपसभापति विश्वप्रकाश शर्मासमक्ष बुझाएको राजीनामाका सम्बन्धमा बोल्दै यो कुनै हतास मानसिकता नभई राजनीतिक जवाफदेहिताको कसी भएको दाबी गर्नुभयो । 

यद्यपि, केन्द्रीय समितिले विशेष महाधिवेशनबाट आएको नेतृत्वले नै बाँकी जिम्मेवारी पूरा गर्नुपर्ने निर्णय गरेपछि उहाँले समितिको निर्णयलाई सम्मान गर्दै नयाँ अध्यायको प्रारम्भ भएको घोषणा गर्नुभयो । थापाले अब राजीनामाको अध्याय समाप्त भएको र पार्टीलाई १५ औँ महाधिवेशनतर्फ डोर्याउने जिम्मेवारी आफ्नो काँधमा आएको बताउनुभयो ।

२०४६ पछिका भ्रष्टाचार काण्ड र सम्पत्ति छानबिनको माग

सुशासनका सन्दर्भमा सभापति थापाले आक्रामक प्रस्ताव अघि सार्नुभएको छ उहाँले २०४६ सालको जनआन्दोलनपछि सार्वजनिक पदमा बसेका सबै व्यक्तिको सम्पत्ति छानबिन गर्न उच्च स्तरीय आयोग गठन गर्नुपर्ने माग गर्नुभयो ।

संविधान संशोधन र राष्ट्रिय सहमतिको पहल

 संविधानका आधारभूत पिलरहरूलाई नचलाई सुशासन र प्रभावकारिताका लागि संविधान संशोधन गर्नुपर्ने प्रस्ताव थापाले राख्नु भएको छ ।यसका लागि कांग्रेसले एक वरिष्ठ नेताको संयोजकत्वमा विज्ञहरू सम्मिलित समिति बनाउने र उक्त समितिले पार्टीभित्र, संसदका दलहरू र संसद् बाहिरका शक्तिहरूसँग समेत छलफल गरी राष्ट्रिय सहमति निर्माण गर्ने योजना सुनाउनुभयो । समावेशीकरण, सामाजिक न्याय र युवाको अधिकारलाई अझ सुदृढ बनाउँदै संविधानलाई समयसापेक्ष परिमार्जन गर्न कांग्रेसले नेतृत्वदायी भूमिका खेल्ने उहाँको भनाई छ ।

डिजिटल सदस्यता र ‘ल्याटरल इन्ट्री’ को व्यवस्था

सदस्यता प्रणालीमा आमूल परिवर्तन गर्दै आगामी वैशाख १ गतेबाट सबै क्रियाशील सदस्यको नयाँ ढङ्गले अभिलेखीकरण र अद्यावधिक गरिने थापाले जानकारी दिनुभयो अब प्रत्येक सदस्यले ‘काँग्रेस आइडी’ पाउनेछन् र सबै प्रक्रिया डिजिटल हुनेछ । यस्तै, विभिन्न पेशा र व्यवसायमा रहेका विज्ञहरूलाई पार्टीको नेतृत्वमा ल्याउन ‘ल्याटरल इन्ट्री’ (पाश्र्व प्रवेश) को ढोका खोलिने उहाँले बताउनुभयो । शुभेच्छुक संस्थाहरूबाट महाधिवेशन प्रतिनिधि आउने पुरानो व्यवस्था खारेज गरी विज्ञहरूलाई सिधै नीति निर्माण र नेतृत्वमा सहभागी गराइने नयाँ विधानको व्यवस्था कार्यान्वयन गरिने उहाँको प्रस्ताव छ ।

कांग्रेस लिडरसिप एकेडेमी र अनिवार्य प्रशिक्षण 

सार्वजनिक जिम्मेवारीमा जान चाहने नेताहरूका लागि थापाले ‘कांग्रेस लिडरसिप एकेडेमी’ को अवधारणा अघि सार्नु भएको छ। अब स्थानीय वा प्रदेश निर्वाचनमा उम्मेद्वार बन्न चाहने व्यक्तिले अनिवार्य रूपमा एकेडेमीको पाठ्यक्रम अनुसार प्रशिक्षण लिनुपर्नेछ । ‘मेयर वा वडाध्यक्ष बन्न चाहनेले पब्लिक पोलिसी, अर्थतन्त्र र सुशासनका बारेमा तोकिएको घण्टा क्लास लिनैपर्छ’, उहाँले भन्नुभयो ।



No ad available.


No ad available.