15th June 2026, Monday

इरान र अमेरिकाबीच शान्ति सम्झौताको इरानभित्र बिरोध

Post Image
17 घण्टा अगाडी

News by: helpline

एजेन्सी । इरान र अमेरिकाबीच हुन लागेको शान्ति सम्झौताको बिषयलाई लिएर इरानभित्र त्यसको विरोध पनि चर्किन थालेको छ ।

उत्तरपूर्वी सहर मशहदमा विदेश मन्त्रालयको कार्यालय बाहिर दर्जनौँ प्रदर्शनकारीले सम्भावित सम्झौताविरुद्ध नाराबाजी गर्दै शीर्ष कूटनीतिज्ञ अब्बास अराघचीको राजीनामा माग गरेका छन् । इरानी समाचार संस्था फार्सले सार्वजनिक गरेको भिडियोमा कालो पोशाक लगाएका महिलासहित प्रदर्शनकारीहरू रातो र कालो झण्डा बोकेर विदेश मन्त्रालयको कार्यालय अगाडि भेला भएको देखिन्छ । उनीहरूले ‘अराघची, राजीनामा देऊ’ र ‘घुसपेठीहरू मूर्दावाद’ जस्ता नारा लगाएका थिए ।

 सम्झौताका विरोधीहरूका अनुसार प्रस्तावित व्यवस्था इरानको रणनीतिक हितविपरीत हुन सक्छ । यसले हर्मुज जलघाँटीमाथिको तेहरानको प्रभाव कमजोर पार्नेछ । यसैबीच सामाजिक सञ्जालमा प्रसारित अप्रमाणित भिडियोहरूले तेहरानस्थित विदेश मन्त्रालयको मुख्यालय बाहिर पनि यस्तै प्रदर्शन भएको दाबी गरेका छन् । ती दृश्यहरूमा प्रदर्शनकारीहरूले विदेशमन्त्री अराघची र संसद्का अध्यक्ष मोहम्मद बाघेर गालिबफको राजीनामा माग गर्दै नाराबाजी गरेको देखिएको छ ।

गालिबफ वार्ता प्रक्रियामा पनि संलग्न रहेको बताइएको छ । अमेरिका र इरानबीच हुन लागेको शान्ति सम्झौतामा आणविक हतियार कार्यक्रम, हर्मुज जलमार्ग सुचारु गर्ने विषय र इरानी तेलमाथि लगाइएको प्रतिबन्धमा छुटलगायत बुँदाहरू उल्लेख रहेको एक वरिष्ठ इरानी अधिकारीले अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सलाई बताएका छन् ।

ती अधिकारीका अनुसार सम्झौतामा हस्ताक्षर हुनासाथ इरानले सबै व्यावसायिक जहाजहरूका लागि हर्मुज जलमार्ग खुला गर्नेछ । त्यस्तै, अमेरिकाले इरानी बन्दरगाहहरूमा लगाएको नाकाबन्दी हटाउनेछ ।



No ad available.


No ad available.