22nd October 2026, Thursday

इन्द्रजात्रा पर्व मनाइँदै

Post Image
3 हप्ता अगाडी

News by: helpline

काठमाडौं । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा, आराधना गरी शुक्रबार परम्परागत रूपमा इन्द्रजात्रा पर्व मनाइँदैछ।

प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ। इन्द्रजात्राका अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक बिदासमेत दिइएको छ। इन्द्रजात्रा अर्थात् ‘येँया पुन्ही’ देवराज इन्द्रलाई सम्झेर मनाइने विशेष पर्व हो । यस पर्वको छुट्टै महत्व तथा परम्परा रहेको छ । वैदिक कालमा भगवान् इन्द्रको ठुलो महत्व रहेको पाइन्छ । नेपालमा मनाइने जात्रा, पर्व विभिन्न कथा र किंवदन्तीसँग जोडिएका छन् ।

 भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिंगो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ। भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिंगोलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ।

लिंगको फेदमा भैरवको पूजा गरिन्छ। सत्रु पराजय भएपछि विजय मनाउने पर्वका रूपमा इन्द्रजात्रा मनाउने गरिएको हो। इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रूपमा पनि इन्द्रजात्रालाई लिइन्छ। यसअघि तान्त्रिक विधिद्वारा पूजा गरी भक्तपुरको चितपोल जंगलमा छोडिएको बोकाले छोएको रूख भाद्र शुक्ल द्वितीयाका दिन काटिन्छ। काटेपछि लिंगोलाई उपत्यका भित्र्याउन पनि साइत हेरिन्छ। उपत्यका भित्र्याएपछि एक रात भोटाहिटीमा राखी एकादशीका दिन विधिपूर्वक इन्द्रध्वजाको लिंगो तयार पार्ने गरिन्छ। काठमाडौंमा इन्द्रजात्रामा जीवित देवी कुमारीलाई रथमा राखी यहाँका पुराना बस्तीका विभिन्न मार्गमा घुमाउने परम्परा छ ।

काठमाडौंका अन्तिम राजा जयप्रकाश प्रकाश मल्लले इन्द्रजात्रामा विशेष कुमारी जात्रा जोडेर सुरु गर्नुभएको किंवदन्ती छ । आजको दिन मुख्य रूपमा मनाइने इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा नजर गर्ने परम्परा छ।



No ad available.


No ad available.