22nd October 2026, Thursday

गोरखा दरबारबाट पठाइएको फूलपाती हनुमानढोका दसैँघरमा भित्र्याइयो

Post Image
4 दिन अगाडी

News by: helpline

काठमाडौं । शनिबार गोरखा दरबारबाट पठाइएको फूलपाती हनुमानढोका दरबारस्थित दसैँघरमा भित्र्याइएको छ ।

 परम्परागत विधिअनुसार पूजाअर्चना गरी गोरखाबाट पठाइएको फूलपातीसहितको डोलीलाई नेपाली सेनाका डोलेहरूले बोकेर हनुमानढोका दरबार परिसरमा ल्याएका थिए । गोरखा दरबारबाट शनिबार बिहान ९ बजे पूजाअर्चनापछि फूलपातीसहितको डोली काठमाडौँका लागि पठाइएको थियो । गोरखा दरबारका सुसारेहरूले परम्परागत विधिअनुसार फूलपातीसहितको डोली तयार पारेका थिए । उक्त डोली सरकारी गाडीमार्फत काठमाडौँ ल्याइएको हो ।

मध्याह्न हनुमानढोका परिसरमा आइपुगेको फूलपातीको डोलीलाई सर्वसाधारण तथा आसपासका देवीदेवताको दर्शन गराइएको थियो । सो क्रममा वसन्तपुरस्थित मुख्य दरबारअगाडि नेपाली सेनाको टुकडीले बन्दुक पड्काएर सलामी दिएको थियो । 

स्थानीय तथा सर्वसाधारणले बाजागाजासहित फूलपातीको स्वागत गरेका थिए । त्यसपछि बाजागाजासहित दरबार परिसर परिक्रमा गराएर नेपाली सेनाले तयार पारेको दसैँघरमा फूलपातीसहितको डोली भित्र्याइएको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ । हनुमानढोकाको दसैँघरमा भित्र्याइएको फूलपातीलाई विजयादशमीको बिहानसम्म पूजाअर्चनासहित राख्ने परम्परा छ । दशमीका दिन दुर्गा भगवतीलाई फूलपाती चढाएपछि टीका ग्रहण गर्ने समयमा जमरासँगै सर्वसाधारणलाई वितरण गर्ने चलन रहेको छ । गोरखा दरबारबाट फूलपाती पठाउने र काठमाडौँको हनुमानढोका दरबारमा भित्र्याउने परम्परा ऐतिहासिक तथा सांस्कृतिक महत्त्वसँग जोडिएको छ ।

 ऐतिहासिक मान्यताअनुसार पृथ्वीनारायण शाहले नेपाल एकीकरणपछि राजधानी काठमाडौँ सारेसँगै गोरखा दरबारबाट हरेक वर्ष बडादसैँको सातौँ दिन फूलपातीसहितको डोली काठमाडौँ पठाउने परम्परा सुरु भएको मानिन्छ ।



No ad available.


No ad available.