24th February 2026, Tuesday

एमाले अध्यक्ष ओली मतदाताको घर आँगनमा

Post Image
2 हप्ता अगाडी

News by: helpline

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आफ्नो निर्वाचन क्षेत्र झापा–५ मा मतदाता तथा स्थानीय जनताका कुरा सुन्न पुग्नुभएको छ ।

एमालेले पार्टीका तर्फबाट स्थानीय क्षेत्रको प्रतिबद्धतापत्र तथा घोषणापत्र बनाउनुअघि स्थानीयको आवाज सुन्न आफू घरदैलोमा आएको ओलीले बताउनुभएको छ । शनिबार झापाको कमल गाउँपालिकाका एक दर्जनभन्दा बढी स्थानीय चोक तथा बजारमा पुगेर ओलीले स्थानीयका माग सुन्नुभएको हो । “म आज मेरा कुरा सुनाउन भन्दा कुरा सुन्न आएको हुँ,” कमल गाउँपालिकाको क्याम्पामा स्वागतका लागि बसेका स्थानीयलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “सबैका भावना र माग समेटेर हामी मुलुकलाई समृद्ध बनाउने अभियानमा जुटेका छौँ ।” उहाँले यस क्षेत्रको विकासमा आफूले कहिल्यै कञ्जुस्याइँ नगरेको समेत स्पष्ट पार्नुभयो ।

आफूलाई आफ्नो निर्वाचन क्षेत्रमा बारम्बार आउन मन भए पनि राष्ट्रिय राजनीति र मुलुकलाई सही दिशा निर्देश गर्न केन्द्रमा रहनुपर्ने बाध्यताले बाक्लो उपस्थिति जनाउन नसकेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँका समस्या र विकासप्रतिको चाहना मैले राम्ररी बुझेको छु ।” कसैको भ्रम र डरमा नपरी देश बनाउने पक्षमा खुलेर आउन उहाँले मतदातालाई आग्रह गर्नुभयो ।

 “अब देशलाई समृद्ध बनाउने सपना साकार पार्न यहाँहरूको योगदान जरुरी छ,” मतदातासँग उहाँले भन्नुभयो । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनमा ओली झापा क्षेत्र नमबर ५ बाट प्रतिनिधि सभाका लागि उम्मेदवार हुनुहन्छ ।

ओली हिजो शुक्रबार झापा जानु भएको हो ।



No ad available.


No ad available.