24th February 2026, Tuesday

चटकदारको पछि नलाग्न रास्वपा त्यागेका नेताहरुको आग्रह

Post Image
2 दिन अगाडी

News by: helpline

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका नेताहरुले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्स्य निर्वाचनमा विचार गरेर मात्रै मतदान गर्न आग्रह गर्नुभएको छ ।

 शनिवार काठमाडौमा पत्रकार सम्मेलन गरी उहाँहरुले रास्वपाप्रति लक्षित गर्दै चटकदार अनुहारलाई भन्दा देश र समाज बुझेका जिम्मेवार राजनीतिक व्यक्तित्व र दल रोज्न मतदाताहरुलाई आग्रह गर्नुभएको छ । उहाँहरुले देश हाल सबैभन्दा गम्भिर अवस्थामा पुगेकोले सामाजिक सञ्जालको भ्रमभन्दा बाहिर निस्केर सोच विचार गर्न पनि अपिल गर्नुभएको छ । अध्ययन–विश्लेषण गरेर मात्रै मतदान गर्न र स्थायी सरकार निर्माणका लागि विवेकपूर्ण निर्णय लिन उहाँहरुले आह्वान गर्नुभयो । वागमती प्रदेशका उपसभापति रहेर हालै रास्वपा परित्याग गर्नुभएका दिनेश हुमागाईंले मतदातालाई भावनात्मक प्रचारभन्दा नीतिगत स्पष्टता र देशवोधका आधारमा मत दिन आग्रह गर्नुभयो । उहाँले चुपचाप नभइ धेरै अध्ययन गरेर मत हाल्न आग्रह गर्नुभयो ।

उहाँले देशले निकास पाउने र स्थायी सरकार बन्नेगरी मत दिनुपर्नेमा जोड दिनुभयो । उहाँले रास्वपा आफ्नो सिद्धान्तबाट विचलन भएको आरोप लगाउनु भयो । समयमा पार्टीले अधिवेशन गर्न नसकेको, निर्वाचनमा उम्मेद्वार चयन प्रक्रिया सही नभएको, नेतृत्वमा जवाफदेहीता नभएको कारण आफूले पार्टी छाडेको उहाँको भनाई छ । उहाँले नयाँको नाममा नेपाली जनता र जेन–जी आन्दोदनमाथी नै धोकाधडी हुन लागेको आरोप लगाउनु भयो ।

यसैगरी रास्वपाबाट अलग हुनुभएका प्रणय शमशेर राणाले पार्टी नेतृत्वमाथि संगठनात्मक पारदर्शिता र आन्तरिक लोकतन्त्र कमजोर बनाएको आरोप लगाउनु भयो । उहाँले थितिको थालनी र वेथितिको अन्त्य भन्ने नाराका साथ स्थापना भएको पार्टी हाल उल्टो बाटोतिर हिँडेको दाबी गर्नुभयो । उहाँले पार्टी सदस्यहरूलाई स्क्याम गरिएको दाबी गर्दै आन्तरिक लोकतन्त्रमा विश्वासघात भएको आरोप लगाउनु भयो । रास्वपा मधेस प्रदेशकी संस्थापक सभापति समेत रहिसक्नुभएकी ममता शर्माले पार्टीभित्र अपारदर्शिता बढ्दै गएकाकाले रास्वपा परित्याग गरेको बताउनु भयो ।

उहाँले बाहिर पारदर्शिताको कुरा गरिएपनि काम उल्टो देखिएको कारण दैनिक रूपमा पार्टी छाड्नेहरुको संख्या बढिरहेको उल्लेख गर्नुभयो ।



No ad available.


No ad available.