24th December 2025, Wednesday

बेथिति बिरुद्ध जेनजी पुस्ता उत्रियो सडकमा

Post Image
3 महिना अगाडी

News by: helpline

काठमाडौं । भ्रष्टाचार, अव्यवस्था र सामाजिक सन्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध नयाँ पुस्ताका युवा पुस्ता जेनजी( १३–२८ वर्ष उमेरभित्रका)हरुले माईतघिर मण्डलामा प्रदर्शन गरेका छन् ।

 जेन जीहरुले पहिलो पटक यसरी सडकमा उत्रिएर प्रदर्शन गरेका हुन् । उनीहरुलाई सत्तारुढ दल नेकपा एमाले बाहेक अधिकांश ठुला दल तथा नेताको मात्र नभइ समाजका बिभिन्न व्यक्तित्व र कलाकारहरुको पनि साथ छ ।

सामाजिक सञ्जाल बन्द गर्ने केपी ओली सरकारको कदमविरुद्ध नै जेन–जीले प्रदर्शन गर्न लागेकाले एमाले यसप्रति असन्तुष्ट छ । पहिले सामाजिक सञ्जालका पोष्टमा मात्र सीमित सरकार र राजनीतिक दलका नेताविरुद्धको आक्रोशलाई जेनजी पुस्ताले सडकमा उतारेका हुन् ।

प्रदर्शनमा सहभागी सबैलाई हिंसा, तोडफोड वा कुनै प्रकारको अव्यवस्था नगर्न विशेष आग्रह गरिएको छ। ‘हाम्रो शक्ति एकता, सृजनशीलता र सत्यमा छ’ भन्ने सन्देशसहित प्रदर्शन गरिएको हो । आन्दोलनले कुनै पनि राजनीतिक दल वा नेताको एजेन्डा अघि सार्ने प्रयोजन नराखेको स्पष्ट पार्दै, आयोजकहरूले राजनीतिक स्वार्थका लागि आन्दोलनको प्रयोग नगर्न चेतावनी दिएका छन्। उनीहरूको भनाइमा यो अभियान व्यक्तिगत वा पार्टीगत फाइदाका लागि नभई नेपालको भविष्यका लागि हो।

जेनजीहरुले काठमाडौं बाहिर दाङ,पोखरा,बुटवल लगायत बिभिन्न जिल्लामा पनि प्रदर्शन गरेका छन् । जेनजीको प्रदर्शनलाई लक्षित गरेर काठमाडौंमा उच्च सुरक्षा अपनाउँदै सुरक्षाकर्मीहरू परिचालन गरिएको छ ।



No ad available.


No ad available.