23rd August 2026, Sunday

भारतमा नेपाली तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु

Post Image
1 हप्ता अगाडी

News by: helpline

काठमाडौं । भारतमा नेपाली तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ३ जना नेपालीको मृत्यु भएको छ ।

नेपाली तीर्थयात्री बोकेर भारततर्फ गएको बस र मालवाहक ट्रक एकआपसमा ठोक्किँदा बसमा सवार रौतहटका तीन जना तीर्थयात्रीको मृत्यु भएको हो । भारतको झारखण्डस्थित कोडरमा जिल्लाको सतगावाँ थाना क्षेत्रमा शुक्रबार बिहान करिब ३ बजे उक्त दुर्घटना भएको हो।

दुर्घटनामा रौतहटको गरुडा नगरपालिका–६, पोठियाहीका ६५ वर्षीय नवलकिशोर चौधरी, उहाँकी श्रीमती ६२ वर्षीया सुन्दरकला देवी र १२ वर्षीय शिवम महतोको मृत्यु भएको जनाइएको छ । 

गत आइतबार ना.६ख १५५४ नम्बरको बसमा बोलबम यात्राका लागि चालकदलसहित ४६ जना भक्तजन भारतको झारखण्डस्थित वैद्यनाथ धामतर्फ गएका थिए। बसमा सवार तीर्थयात्री बासुकीनाथको दर्शनपछि देवघर हुँदै राजगिर जाने क्रममा दुर्घटनामा परेका हुन्।

दुर्घटनामा परेका आठ जना तीर्थयात्रीको अवस्था गम्भीर रहेको जनाइएको छ । दुर्घटनामा कटहरिया नगरपालिका–डुमरियाका २० जना यात्रीसमेत परेका छन् । दुर्घटनाको खबरले पोठियाही र डुमरिया गाउँ शोकमा डुबेको छ। मृतक तथा घाइतेका आफन्त शुक्रबार चार वटा सवारीसाधन रिजर्भ गरी भारततर्फ प्रस्थान गरेका छन्।



No ad available.


No ad available.