22nd October 2026, Thursday

बडा दसैंको आठौ दिन, महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरियो

Post Image
3 दिन अगाडी

News by: helpline

काठमाडौं । बडा दसैँ अन्तर्गत आज नवरात्रको आठौँ दिन अर्थात अष्टमी,दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिएको छ ।

 प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी अर्थात् दुर्गा पक्षको आठौँ दिन महागौरी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत्लगायत देवी स्तोत्र पाठसमेत गरिन्छ ।

 नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ ।

राजधानी काठमाडौं र राजधानी बाहिरका शक्तिपीठ एवं देवी मन्दिरमा पूजा आराधना एवं दर्शनका लागि बिहानैदेखि भक्तजनको भीड लागेको थियो। घटस्थापनादेखि बिजयादशमीको अघिल्लो दिनसम्मको नौ दिनलाई नवरात्र भन्ने चलन छ ।

नौ दिनमा नवदुर्गाको बिभिन्न रुप अन्तर्गत पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजागर्ने गरिन्छ । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । दुर्गा देवीका आराधना एवं प्रसाद ग्रहण गरी नेपालीले १५ दिनसम्म बडादसैँ पर्व मनाउँछन् ।



No ad available.


No ad available.