14th April 2026, Tuesday

आयोगले समानुपातिक सांसदहरूलाई विहिबार प्रमाण पत्र दिने, राष्ट्रपतिलाई प्रतिवेदन पनि बुझाउने

Post Image
3 हप्ता अगाडी

News by: helpline

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक सांसदहरूलाई विहिबार प्रमाण पत्र दिने भएको छ।

आयोगका अनुसार समानुपातिक प्रणालीबाट निर्वाचित सांसदरूले बिहीबार बिहान साढे ११ बजे निर्वाचित भएको प्रमाण पत्र ग्रहण गर्ने कार्यक्रम तय भएको छ। उक्त कार्यक्रम आयोगको प्राङ्गण कान्तिपथमा हुनेछ। फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन भएको थियो।

 समानुपातिकतर्फ ११० जना निर्वाचित भएका छन्। प्रत्यक्षतर्फ १६५ जना निर्वाचित भएका थिए। प्रत्यक्षतर्फ निर्वाचित भएकाहरूले यसअघि नै प्रमाण पत्र पाइसकेका छन्। समानुपातिक सांसदहरूलाई प्रमाणपत्र दिएपछि आयोगले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन बिहीबार नै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाउने जनाएको छ ।

आयोगले निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन बुझाएपछि नेपालको संविधान, २०७२ को धारा ७६ (१) अनुसारको सरकार गठनका लागि आह्वान गर्ने बाटो खुल्ने जनाइएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ सरकार गठनका लागि एकल रूपमा स्पष्ट बहुमत प्राप्त गरेको छ । दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाका कुल १८२ सांसद निर्वाचित भएका छन् ।

समानुपातिक निर्वाचनतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट ५७ सांसद निर्वाचित भएका छन् । यसैगरी नेपाली कांग्रेसबाट २०, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिवादी) बाट १६, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट नौ, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट चार÷चार जना सांसद निर्वाचित भएको आयोगले गत सोमबार नै घोषणा गरिसकेको छ ।



No ad available.


No ad available.