14th April 2026, Tuesday

आजबाट नयाँ वर्ष विसं २०८३ साल शुरु

Post Image
2 घण्टा अगाडी

News by: helpline

काठमाडौं । आजबाट नयाँ वर्ष विसं २०८३ साल प्रारम्भ भएको छ ।

नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीहरुले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् । नयाँ वर्षलाई उत्साह, नयाँ उमङ्ग र नयाँ सुरुआतका रूपमा पनि लिने गरिन्छ । वैशाख १ गतेलाई वर्षको पहिलो दिन मानिन्छ ।

यो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी उत्साहका साथ मनाइन्छ । सबैभन्दा पूरानो सम्वतका रूपमा विक्रम सम्वत स्थापित छ । सोही संम्वतको आज पहिलो दिन हो । विक्रमादित्यले चलाएको संम्वत भएकाले यो संवत्लाई विक्रम संम्वत भनिएको हो । मल्लकालदेखि नेपालमा मौलिक संवतका रुपमा विक्रम संवत् चलेको हो । नेपालमा मात्र मौलिकरुपमा यो संवत् चल्छ ।

आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन तथा वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति पनि हो । सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको जानकारहरू बताउँछन् । सूर्य मेष राशिमा प्रवेश गरी मीन राशिमा पुगेर छोड्दा यो संवतको पुरानो वर्ष सकिएर नयाँ वर्ष लाग्ने भएकाले वैज्ञानिक यो रहेको विद्वानहरूको भनाइ छ । हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलता र असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण गरी सङ्कल्प गर्दछन् ।

आज बिहानै स्नान गर्ने, मन्दिर जाने, घर सफा गर्ने, मीठोमीठो खाने, साथीसंगी तथा इष्टमित्रसँग भेटघाट गरी एकापसमा शुभकामना आदान–प्रदान गर्ने गरिन्छ । नयाँ वर्षको पहिलो दिन राम्रो सुरुआत भए वर्षभर राम्रो हुने जनविश्वास छ । नयाँ वर्षको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव लगायत बिभिन्न व्यक्तित्वले शुभकामना सन्देशमार्फत नेपालीको उन्नति, प्रगति र समृद्धिको कामना गर्नुभएको छ ।



No ad available.


No ad available.