24th December 2025, Wednesday

आज ‘गाईजात्रा’ पर्व,बिविध कार्यक्रम गरी मनाइँदै

Post Image
4 महिना अगाडी

News by: helpline

काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज काठमाडौं उपत्यका सहित देशभर बिभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा नेवार समुदायले यस दिन गाई वा मानिसलाई गाईका रुपमा सिंगारी समुदायमा परिक्रमा गर्ने प्रचलन छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाइ वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । गाईजात्राका दिन दिवङ्गत भएका आफन्तको सम्झनामा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने चलन रहिआएको छ ।

राजा प्रताप मल्लले पुत्रशोकले विहृवल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन जनतालाई आ–आफ्नो घरका मृत्यु भएका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनु भनी आदेश दिएको सम्झानामा यो पर्व शुरु भएको ऐतिहासिक मान्यता छ ।

 आजभोलि गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गरिन्छ । सार्वजनिक रूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विविध कार्यक्रमको आयोजना समेत हुन्छ ।

गाईजात्रा पर्व काठमाडौँ उपत्यकालगायत बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे, त्रिशूली बजार, चरीकोट, दिक्तेल, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगन्ज, हेटौँडा र पोखरा लगायत स्थानमा यो पर्व मनाइन्छ । गाईजात्राको अवसरमा सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।



No ad available.


No ad available.