24th December 2025, Wednesday

आज छठको मुख्य दिन, अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदै

Post Image
1 महिना अगाडी

News by: helpline

काठमाडौं । कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ दिइँदै छ ।

बिहानै स्नान गरी दिनभर निर्जल व्रत गरेका बर्तालुले बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ दिने व्रत विधि रहेको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व गत शनिबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भए अनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो ।

 त्यस समयमा पाण्डवहरु विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । यो पर्वको तयारी ५ देखि ७ दिनअघि नै सुरु हुने गर्दछ र कार्तिक शुक्ल चतुर्थी तिथिबाट विधिवत् सुरु भई कार्तिक शुक्ल सप्तमीका दिन बिहान उषा अर्घ दिएर सम्पन्न हुन्छ। यो पर्वमा मुख्यगरी प्रत्यक्ष देवता सूर्यदेवको उपासना गरिन्छ । हिन्दू धर्ममा सूर्य पूजाको परम्परा वैदिक कालदेखि नै विद्यमान छ ।

छठ पर्वमा गरिब–धनी, ब्राह्मण–दलित, उच्च–निम्न सबै वर्गका मानिसहरू एकैसाथ सहभागी हुन्छन् । सामाजिक विभेद र छुवाछुतजस्ता विकृति हटाउँदै यसले समानता र सद्भावको सन्देश दिने पर्वका रूपमा छुट्टै पहिचान बनाएको छ । छठ पर्वमा सप्तमी युक्त षष्ठी तिथिमा मुख्य व्रत लिने परम्परा छ ।

सूर्य देवतालाई पहिलो अर्घ सोही दिन साँझमा अर्पण गरिन्छ । त्यसैगरी, भोलिपल्ट बिहान सूर्यलाई अर्घ दिइन्छ र पर्वको समापन गरिन्छ ।



No ad available.


No ad available.