22nd October 2026, Thursday

आगामी शुक्रबारदेखि आइतबारसम्म भारी बर्षाको संभावना,सतर्कता अपनाउन आग्रह

Post Image
4 हप्ता अगाडी

News by: helpline

काठमाडौं । आगामी शुक्रबारदेखि आइतबारसम्म देशका अधिकांश भू भागमा बर्षाको संभावना रहेको छ ।

नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म देशका अधिकांश भूभागमा मेघगर्जन चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार उत्तर अन्डमान सागर र आसपास क्षेत्रमा विकसित न्यून चापीय क्षेत्र हाल बङ्गालको खाडीको मध्य भूभाग आसपास रहेको र उक्त प्रणाली थप शक्तिशाली बन्दै डिप डिप्रसन (बलियो न्यून चापीय क्षेत्र) भइ पश्चिम–उत्तरपश्चिम दिशातिर सर्ने देखिन्छ ।

यसको प्रभावले बुधबारबाटनै देशका विभिन्न भूभागमा वर्षाको गतिविधि बढ्दै जाने पूर्वानुमान छ । गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङ्ग हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा तथा एक, दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना छ ।

साथै मधेस प्रदेश तथा कोशी, बागमती र सुदूरपशिचम प्रदेशका थोरै स्थानमा पनि मेघगर्जन चट्याङ्ग हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । कर्णाली प्रदेशको थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना छ । भारीदेखि धेरै भारी वर्षा हुने समयमा काठमाडौं उपत्यका लगायत देशका सबै क्षेत्रमा सावधानी अप्नाउनुपर्ने महाशाखाले जनाएको छ । सम्भावित वर्षाका कारण भू–क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले सहरी तथा तराई क्षेत्रहरुमा डुबानको जोखिम रहेको महाशाखाले बताएको छ ।

यसकारण, ठुला तथा साना नदी नाला र खोलाहरुमा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन लगायत नदी क्षेत्र आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन अनुरोध गरिएको छ ।

साथै उक्त मौसम प्रणालीको प्रभाव देशको हिमाली भूभागमा भारीसम्म हिमपात हुन सक्ने भएकोले पर्वतारोही तथा सम्बन्धित सबैले उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।



No ad available.


No ad available.